नागढुंगाको विकल्प सीतापाइला–धार्के सडक दुई लेनको बनाउन सुरु

270

फागुन २६,
काठमाडौं । सरकारले अत्याधिक जाम हुने नागढुंगा–नौविसे सडकको विकल्प अघि सारेको छ । र, योजनाअनुसार काम भए ३ वर्षमै काठमाडौं भित्रिँदा र बाहिँरिदा नागढुंगाको जाम छल्ने एउटा सशक्त विकल्प तयार हुनेछ ।
सरकारले सीतापाइला–धार्के सडकलाई अढाई वर्षभित्र स्तरोन्नति गरेर दुई लेनको बनाइसक्नेछ । त्यसलगत्तै करिब ६ महिनामा सडकको सबै भागमा पीच हुनेछ ।
सरकारले काठमाडौंतर्फको ५ किलोमिटर खण्डमा सडक विस्तारको काम सुरु गरिसकको छ । उसो त नौबिसे–सीतापाइला सुरुङ मार्ग निर्माणका लागि जापान सरकार तयार भइसकेको छ ।
तर, यसले समय लिने भएकाले सरकारले वैकल्पिक बाटोलाई स्तरीय बनाउन लागेको हो । यो सडक सीतापाइला–रामकोट–भीमढुंगा–महेशफाँट हुँदै धार्केमा जोडिन्छ । अहिले धार्केबाट कलंकी पुग्न २५ किलोमिटरकै दूरी छ । दुई लेनको हुन लागेको धार्के–सीतापाइला सडक पनि कुल २४ किलोमिटरको नै हुनेछ ।
यो सडक विस्तार भएर सञ्चालनमा आएपछि नौबिसेदेखि नागढुङ्गासम्म हुने सवारीको जाम कम हुने अपेक्षा छ । यो सडकको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० कुवेत सरकारले तयार पारेको हो । झण्डै १५ करोड खर्चिएर डिपीआर तयार गरिएको हो ।सडकलाई स्तरीय बनाउन झण्डै साढे २ अर्ब खर्च लाग्ने प्रतिवेदनमा उल्लेख छ । सरकारले यसअघि नै सडकको ट्रयाक तयार गरिसकेको छ । अब यो सडकलाई दुई लेनमा विस्तार गरेर सवारी आवत–जावत सहज गराइनेछ ।
पहिलो चरणमा सडक फराकिलो बनाउने तथा कल्भर्ट र पर्खालसहित आवश्यक पूर्वाधारहरु तयार गरिनेछ । त्यसपछि अर्को चरणमा सडक पीच गर्ने योजना छ । यो सडक दुई लिनेको भएपछि नौबिसे पुग्न र नौबिसेबाट काठमाडौं आउन दुईवटा विकल्प तयार हुनेछ । नागढुंगामा सानो समस्या आएपनि घण्टौं रोकिनुपर्ने बाध्यता सडक फराकिलो भएपछि रोकिने छ ।
अहिले नागढुंगाको उकालोमा एउटा सवारी बिग्रिएपनि एकोहोरो सवारी चल्दा लामो जाम खेप्नुपर्ने बाध्यता यात्रु र सवारीलाई छ । अब बन्ने दुई लेनको सडकलाई स्तरी रुपमा बनाउने गरी डिजाइन तयार भएको छ । यसमा बनइने पूर्वाधारलाई मजबुत र आधुनिक प्रविधियुक्त गरिनेछ ।
कालोपत्रे गरेपछि यो सडक काठमाडौं प्रवेशका लागि अर्को भरपर्दो विकल्पका रुपमा रहनेछ । अहिले पनि फाट्टफुट्ट रुपमा यो सडकबाट सवारीहरु आउने–जाने गरेका छन् ।यो सडकलाई फराकिलो बनाउन सडक विभागले दुईवटा आफ्ना सडक डिभिजन कार्यालयलाई जिम्मेवारी दिइसकेको छ ।
धार्केबाट १४ किलोमिटरसम्मको सडक चितवन डिभिजनले निर्माणको काम गर्दैछ । काठमाडौंको सिमाना रामकोटसम्मको काम यही डिभिजनले गर्नेछ । त्यसभन्दा यता काठमाडौंंकै डिभिजनले काम गर्नेछ । अनलाइन खबरबाट