Wednesday, September 23, 2026
Home कृषि ब्रान्डसहित सिस्नु उत्पादन

ब्रान्डसहित सिस्नु उत्पादन

91

चौतारा । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–२ कुञ्चोकका महिला गाउँमै उत्पादन गरिएको प्राङ्गारिक सिस्नुको पाउडरलाई ब्रान्ड बनाएर बिक्री गर्न एकजुट भएका छन् । जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका महिलाले खेरगइरहेको बाँझो जग्गा तथा करेसाबारीमा सिस्नु खेती गरेका छन् ।

सुरुमा सिस्नु खेती गर्दा गाउँवासीले गिज्याए पनि अहिले यसले व्यावसायिकरूप लिएपछि अन्य महिला दिदीबहिनी पनि यसतर्फ आकर्षित भएको स्थानीयवासी निर्मला सुनारले बताइन् । ‘अब सिस्नुको धुलो प्याकेटमा बिक्री गर्छौ चाहिएमा हरियो सिस्नु पनि उपलब्ध गराउँछौँ,’ उनले भनिन् । अहिले नवलपुर बजारमा रहेका पसलबाट सिस्नुको धुलो बिक्री भइरहेको छ ।

माग आएअनुसार मेलम्ची र चौतारा बजारसम्म यहाँको उत्पादन पुग्ने गरेको छ । सहकारीमा छलफल भएपछि महिलाले यसको खेती सुरु गरेका हुन् । सिस्नुलाई पाउडर, हरियो सिस्नुका साथै अनेक परिकार बनाउने गरिएको जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष रति थापामगरले बताइन्।

‘यसलाई एउटा नाम दिएर राजधानीलगायत अन्य स्थानमा पुर्‍याउने लक्ष्य लिएका छौँ,’ उनले भनिन्,’यसका लागि गाउँपालिकामा कुरा गरेका छौँ ‘ । सुरुमा दश जनाको महिला समूहले कृषि उत्पादनमा सिस्नुलाई नै रोजेका हुन् । अहिले गाउँका अन्य महिलालेसमेत सिस्नु खेती गरेका छन् ।