पठानले कमायो ३ सय करोड

46

मुम्बई — चलचित्र ‘पठान’ ले ३ दिनमा विश्वभरबाट ३ सय करोड भारतीय रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । शाहरूख खान, दीपिका पादुकोण अभिनीत योसँगै फिल्म सबैभन्दा छोटो समयमा ३ सय करोडभन्दा बढीको व्यापार गर्ने हिन्दी चलचित्रको रेकर्ड पनि कायम गरेको छ । यशराज फिल्म्सका अनुसार हिन्दी भर्सनले रिलिजको तेस्रो दिन ३८ करोड भारतीय रुपैयाँ कमाएको हो । अन्य भाषाबाट १ करोड २५ लाख कमाइ भएको यशराज फिल्म्सले जनाएको छ ।

जनवरी २५ मा ‘पठान’ हिन्दीका साथै तमिल र तेलुगु भाषामा रिलिज भएको थियो । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार ‘पठान’ ले विश्वभरबाट पहिलो दिन १ सय ६ करोड र दोस्रो दिन १ सय १३ करोड रुपैयाँ व्यापार गरेको छ । तीन दिनमा चलचित्रले घरेलु बजारमा २ सय १ करोड र भारतबाहिर १ सय १२ करोड कलेक्सन गरेको छ । अहिलेसम्म चलचित्रले ३ सय १३ करोड भारतीय रुपैयाँ कमाएको बलिउडका ट्रेड एनालिस्ट तरण आदर्शले जनाएका छन् ।

इन्डियन एक्सप्रेसका अनुसार विश्वका एक सयभन्दा बढी देशका करिब ८ हजार स्क्रिनमा ‘पठान’ प्रदर्शन भइरहेको छ । पठानले विभिन्न रेकर्डसमेत तोडेको छ । ‘पठान’ एक दिनमा ७० करोड कमाउने पहिलो हिन्दी चलचित्र बनेको छ । यशराज ब्यानरमा बनेको फिल्ममध्ये बक्स अफिस कलेक्सनमा ५० करोड नघाउने तेस्रो फिल्म हो । यसअघि ‘वार’ ले ५३ करोड र ‘ठग्स अफ हिन्दोस्तान’ ले ५२ करोड कमाएका थिए । सिद्धार्थ आनन्दको निर्देशनमा बनेको ‘पठान’ मा शाहरूख र दीपिका अलावा जोन अब्राहम, डिम्पल कपाडिया, आशुतोष राणालगायतका कलाकारको अभिनय छ ।