अब डिजेल, पेट्रोल र मट्टितेल एउटै पाइपबाट आउने

40

काठमाडौँ । बारास्थित अमलेखगन्ज डिपोमा अब डिजेल, पेट्रोल र मट्टितेल एउटै पाई पलाइनबाट आउने भएको छ। हाल उक्त डिपोमा पाइपलाइनमार्फत् डिजेल मात्रै आयात हुँदै आएको छ। पाइपलाइनमार्फत डिजेल आयात सन् २०१९ (२०७६ भदौ) देखि थालिएको हो।

सन् २०२४ जनवरीदेखि उक्त पाइपलाइनमार्फत् पेट्रोल आयात पनि थालिने नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रदीपकुमार यादवले जानकारी दिए। यसका लागि मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरणको काम सुरू भएको छ। दोस्रो चरण अन्तर्गत ४१०० किलोलिटर क्षमताका दुई वटा पेट्रोल भण्डारण (ट्याङ्क) निर्माण सुरू गरिएको छ।

नेपाल-भारत पाई पलाइनबाट पेट्रोल ल्याउन हाल मुख्य समस्या भनेकै भण्डारणको हो। पाइपलाइन सम्झौताकै क्रममा नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसन (आइओसी) बीच दोस्रो चरणमा पेट्रोल भण्डारण केन्द्र निर्माण गर्ने सम्झौता पनि भएको थियो।

नेपाल र भारतको संयुक्त लगानीमा भण्डारण केन्द्र निर्माण गर्ने सम्झौता भएको हो। दोस्रो चरणमा निर्माण गरिने भौतिक संरचनामध्ये एउटा पेट्रोल ट्याङ्क, २५० किलोलिटर क्षमताका दुई वटा ट्रान्समिक्स, तीन हजार किलोलिटर क्षमताका दुई वटा फायरवाटर ट्याङ्क आइओसीले बनाउनेछ।

दोस्रो चरण अन्तर्गत नै २५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स पनि निर्माण थालिएको छ। २४ वटा पूर्ण स्वाचालित लोडिङ वे रिफिलर, अत्याधुनिक प्रयोगशाला निर्माण गरिनेछ। त्यस्तै फायर फाइटिङ सिस्टम स्तरोन्नति गरिने पनि कार्यालय प्रमुख प्रदीपकुमार यादवले जानकारी दिए। त्यस्तै आयल वाटर स्प्रेटर तथा पिएमसिसी रुम पनि बन्नेछ।