मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने: रञ्जिता श्रेष्ठ

39

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताएको छ ।नागरिक उन्मुक्तिको समर्थनमा एमालेका राजेन्द्र रावल २७ पुसमा मुख्यमन्त्री बनेका थिए । उनले एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्छ ।

तर नागरिक उन्मुक्तिको समर्थन गर्ने सुनिश्चित नभएका कारण अहिलेसम्म विश्वासको मत लिएका छैनन् । उनले शीर्ष तहबाटै सहमति खोजेका छन् ।तर नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले भने सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने बताएकी छन् ।

बुधबार दाङमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भनिन्, ‘सत्ता गठबन्धनमा रहेर हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेको छौँ । सुदूरपश्चिममा पनि सरकार बनाएका छौँ । तर माग पुरा नभएपछि मुख्यमन्त्रीलाई विश्वासको मत दिन सक्दैनौँ ।’यद्यपि छलफलका क्रममा आफूहरूको माग मुद्दाप्रति प्रधानमन्त्री सकारात्मक पाएको उनले बताइन् ।