माघ २० अघि मन्त्रिमण्डल विस्तार नहुने

33

काठमाडौँ । लुम्बिनी प्रदेशमा मन्त्रिमण्डलले पूर्णता पाउन अझै डेढ हप्ता लाग्ने भएको छ । पुस २७ गते प्रदेश सभाका १० मध्ये ७ दल र २ स्वतन्त्र सांसद गरी ५८ जनाको समर्थनमा नेकपा एमालेका नेता लीला गिरी मुख्य मन्त्री नियुक्त भएका थिए ।

सोही दिन एमालेबाट अर्घाखाँचीका चेतनारायण आचार्य र माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसी बिना विभागीय मन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री गिरीले विश्वासको मत लिएपछि मन्त्रिमण्डलले पूर्णता पाउने बताएका थिए ।

तर मुख्यमन्त्रीले माघ ५ गते विश्वासको मत पाएपछि पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । सत्तारुढ दलहरूमै मन्त्रीका आकाङ्क्षी धेरै भएपछि भागबण्डा मिलाउन कठिनाइ भएकाले मन्त्रिमण्डलले पूर्णता पाउन नसकेको हो ।

गिरीलाई माओवादी केन्द्र, राप्रपा, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी तथा २ स्वतन्त्र सांसदले पनि विश्वासको मत दिएका छन् । मुख्यमन्त्री नियुक्त हुँदा ७ दलको समर्थन रहेकोमा विश्वासको मत लिँदा नेकपा एकीकृत समाजवादी पनि थपिएको हो ।