नेप्सेमा दोहोरो अंकको गिरावट

30

काठमाडौं । बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा १ प्रतिशत भन्दा माथिले वृद्धि हुँदा पनि सेयर बजार परिसूचक नेप्सेमा भने दोहोरो अंकको गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्से १३.७१ अंक (०.६३ प्रतिशत) ले गिरावट हुँदा २१६५.१० अंकमा बन्द भएको छ ।

नेप्सेमा सुरुवातदेखि नै तिव्र उतारचढाव देखिएको थियो । उताचढावबीच अन्तिममा नेप्से दोहोरो अंकले गिरावट भएर बन्द भएको हो । बैंकिङ उपसूचक १.०८ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.६६ प्रतिशतले वृद्धि भएपनि अन्य सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । विकास बैंक हाइड्रोपावर र होटल तथा पर्यटन उपसूचकमा दुई प्रतिशत भन्दा माथिको गिरावट हुँदा नेप्से पनि घटेको हो ।

स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, नेपाल एसबिआई लगायत केही बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरणका कारण लगानीकर्ताको आकर्षण हुँदा सोमबार बैंकिङ उपसूचक बढ्न पुगेको छ ।

नेप्सेमा गिरावट भएपनि सामबार कारोबार रकम भने ४ अर्ब नजिक पुगेको छ । १ करोड ७ लाख ५९ हजार ५७९ कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा ३ अर्ब ८६ करोड ४० लाख ९ हजारको कारोबार भएको छ । जसमध्ये कुमारी बैंकको २७ करोड ४८ लाख २९ हजारको कारोबार हुँदा एनआईसी एशिया बैंकको १२ करोड ७५ लाख ७८ हजार, रिडी हाइड्रोपावरको ११ करोड ३३ लाख २३ हजार, अपी पावरको ११ करोड १३ लाख ९० हजार र एभरेष्ट बैंकको १० करोड २ लाख ७२ हजारको कारोबार भएको छ ।