Saturday, September 19, 2026
Home समाज सन्दीपको पुनरावेदन पेसी आज पनि स्थगित

सन्दीपको पुनरावेदन पेसी आज पनि स्थगित

26

काठमाडौँ । बलात्कारको मुद्दामा पुर्पक्षको लागि केन्द्रीय कारागार सुन्धारामा रहेका राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछानेको पुनरावेदन पेसी बिहीबार पनि स्थगित भएको छ। उच्च अदालत पाटनमा न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र नरिश्विर भण्डारीको इजलासमा परेको पेसी निवेदकका वकिलका तर्फबाट स्थगित गरिएको हो। उनको आज ४ नम्बरमा पेसीको सूची रहेको थियो।

यसअघि दुई पटक पेसीका लागि तय भए पनि सन्दीपको सुनुवाइ हुन सकेको थिएन। यसअघि ७ पुसमा सन्दीपका कानुन व्यवसायीले ‘बार डे’ परेको भन्दै पेसी स्थगित गरेका थिए भने १४ पुसमा पेसी हेर्न नभ्याउनेमा परेको थियो।

जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाएपछि त्यसविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन दिएका थिए। पुनरावेदनले जिल्लाको आदेश सदर भएमा उनी जेलमा नै बस्नु पर्नेछ भने अदालतले उनको पक्षमा फैसला गरेमा उनी रिहा भएर अन्तिम मुद्दाका लागि लड्नु पर्ने छ। यसअघि जिल्ला अदालत काठमाडौँले पीडित किशोरीको उमेरको लागि अस्पतालबाट जन्मदर्ताको प्रमाणपत्र मगाउन आदेश दिएको थियो।