सभामुखमा पृथ्वीसुब्बा र छविलालको दाबी

75

काठमाडौं । सभामुखमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्माले दाबी गरेका छन् ।

दुबै नेताले सभामुखमा आफ्नो इच्छा रहेको कुरा अध्यक्ष केपी शर्मा ओलीसमक्ष पुर्‍याएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको गठबन्धन बन्दा प्रतिनिधिसभाको यो ५ वर्षे कार्यकालको सुरुको आधा समय सभामुख पद लिने सहमति भएको छ । पार्टीले नै सभामुख पाउने निश्चित भएपछि नेताहरु आफ्नो पक्षमा निर्णय गर्न नेतृत्वसमक्ष लबिङ गरिरहेका छन् ।

प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा सुरु हुँदैछ । पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधान अनुसार १० माघभित्र सभामुखको निर्वाचन गरिसक्नुपर्छ । २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन् । त्यसलगत्तै सभामुखको निर्वाचनको प्रक्रिया सुरु हुन सक्नेछ ।

विश्वकर्मालाई अध्यक्ष ओली निकट नेताहरुले अगाडि सारेका छन् । उपाध्यक्ष सुवास नेम्बाङले समेत आफू निकटका नेताहरुसँग सभामुखमा बढ्ता सम्भावना छविलाल विश्वकर्माकै रहेको बताउने गरेका छन् । कतिपय नेताहरु भने ओलीले स्वयं नेम्बाङलाई नै सभामुख बन्न आग्रह गरेको दाबी गर्छन् ।