भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता उद्घाटन गरेका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै नेमकिपाका अध्यक्ष बिजुक्छेँले प्रतियोगितामा सहभागी सबैलाई पूर्ण सफलताको कामना दिदै खेलकुद शिक्षाको अभिन्न अंग भएको बताए । खेलकुद क्षेत्रलाई राजनीतिसँग अलग गर्न नहुने बताउदै अध्यक्ष बिजुक्छेँले समाजवादी देश क्युवा खेलकुदमा धेरै प्रगति गरेको देश भएको बताए ।
स्वास्थ्य, अनुशासन, देशको स्वतन्त्रता र सार्वभौमिकता रक्षाको निम्ति खेलाडीहरु खेलकुदमा सहभागी हुनुपर्ने उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले विद्यालय तहदेखि नै विद्यार्थीहरुलाई राम्रोसँग प्रशिक्षित गर्न सके राष्ट्रिय÷अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरबाटै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी, रेफ्रीहरु तयार गर्ने भक्तपुर नपाको उद्देश्य रहेको बताउदै खेलकुदमा भाग लिनु मनोरञ्जनको लागि मात्र नभई अनुशासन र मित्रताको लागि भएको उल्लेख गरे ।
उनले खेलकुद विकासको लागि भक्तपुर नपा वडा नं. ९ र ८ लिबालीमा खेलकुद कभर्ड हल निर्माण सम्पन्न भइ चालु अवस्थामा रहेको जानकारी गराउदै हाल भनपा १० मा बेखाल कभर्ड हल निर्माणाधीन अवस्थामा रहेको र माहेश्वरी खेलमैदान र सहिदस्मृति खेलमैदान निर्माण प्रक्रियामै रहेको अवगत गराए ।
त्यस्तै बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले विद्यालय जीवनमा पढाइसँगसँगै खेल र सिर्जनात्मक गतिविधि अत्यन्त महत्वपूर्ण हुने बताउदै खेलकुद क्षेत्रलाई अझ फराकिलो बनाउँदै लानुपर्ने आवश्यकता औंल्याएका छन् ।
खेलकुद सर्वसाधारणका छोराछोरीको अधिकारको विषय बनाइनुपर्नेमा जोड दिदै उनले वास्तविक प्रजातन्त्र उपभोग गर्न शिक्षा, स्वास्थ्य र खेलकुदलाई विद्यार्थीहरुको अधिकारको विषय बनाइनुपर्ने बताए ।
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा भलिबल, टेबुलटेनिस, उसु, पोर्टबल, कबड्डी, तेक्वाण्डो, कराँते, एथ्लेटिक्स, ब्याडमिन्टन÷जिम्नास्टिक, फुटसल, खोखो, बुद्धिचाल, कसिमला पाँय् गरी १३ ओटा खेलका लागि प्रतिस्पर्धा हुनेछ ।