राष्ट्रिय स्वतन्त्र पार्टीमा लफडा

224

काठमाडौं । समानुपातिक सांसद चयनको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीमा लफडा देखिन थालेको छ ।
सो पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा प्रतिनिधि सभातर्फ नेता तथा कार्यकर्ताहरूले खबरदारी गरेका छन्।

रास्वपाले समानुपातिक उम्मेदवार छान्दा प्राइमरी इलेक्सन गरेको थियो। प्राइमरी इलेक्सनबाट धेरै मत ल्याएकाहरूलाई राखेर समानुपातिक उम्मेदवारको बन्दसूची बनाइएको थियो। तर अहिले समानुपातिकतर्फ सांसद चयन गर्दा प्राइमरी इलेक्सनविपरीत गर्न खोजेको भन्दै विरोध भइरहेको छ।
आज पार्टी कार्यालयमा खबरदारी गर्न पुगेका सुनसरी जिल्ला सभापतिसमेत रहेका सुनसरी २ मा रास्वपाबाट मंसिर ४ को चुनावमा प्रतिनिधि सभातर्फ प्रत्यक्ष उम्मेदवार भएका लालविक्रम थापाले प्राइमरी इलेक्सनअनुसार नै समानुपातिक सांसद चयन गरिनुपर्ने माग गर्दै खबरदारी गरिएको बताए।
रास्वपाले प्रत्यक्षतर्फ ७ सिट जितेको छ भने समानुपातिकतर्फ १३ सिट जितेको छ। समानुपातिक १३ सिटमा सांसद पठाउँदा समावेशी सिद्धान्तअनुसार क्लस्टर मिलाएर पठाउनुपर्ने हुन्छ। रास्वपाले केन्द्रीय समिति बैठक गरेर समानुपातिक सांसद चयन गर्ने बताइरहेको छ।