कपिलवस्तुमा ३७ हजार बढी मत बदर

25

कपिलवस्तु  ।  यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ३७ हजार बढी मत बदर भएको छ । जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका निर्वाचन अधिकृत राजीव पन्थीका अनुसार प्रत्यक्ष तथा समानुपातिक गरी ३७ हजार सात सय ३६ मत बदर भएको हो ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १३ हजार चार सय ५६ मत बदर भएको छ भने प्रदेशसभामा ११ हजार एक सय ४३ मत बदर भएको पन्थीले जानकारी दिनुभयो । तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा सबैभन्दा बढी मत क्षेत्र नं ३ मा बदर भएको छ । क्षेत्र नं ३ मा प्रत्यक्षतर्फको प्रतिनिधिसभामा पाँच दशमलव ३१ प्रतिशत मत बदर भएको छ भने दुवै प्रदेशसभा १ मा चार दशमलव ३२ प्रतिशत र प्रदेशसभा २ मा पाँच दशमलव ८१ प्रतिशत मत बदर भएको छ । जिल्लामा सबैभन्दा कम मत क्षेत्र नं २ मा बदर भएको छ ।

प्रतिनिधिसभातर्फ तीन दशमलव ८१ प्रतिशत मत बदर हुँदा प्रदेशसभा १ मा दुई दशमलव ६० प्रतिशत र प्रदेशसभा २ मा चार दशमलव ६५ प्रतिशत मत बदर छ । क्षेत्र नं १ मा पाँच दशमलव ८७ प्रतिशत मत बदर भएको छ । प्रदेशसभा १ मा तीन दशमलव ८१ प्रतिशत र प्रदेशसभा २ मा पाँच दशमलव ६४ प्रतिशत मत बदर छ । प्रतिनिधिसभा तथा प्रदेशसभा समानुपातिकतर्फ क्षेत्र नं १ मा पाँच दशमलव ३३ प्रतिशत, क्षेत्र नं २ मा चार दशमलव १८ प्रतिशत र क्षेत्र नं ३ मा पाँच दशमलव ९९ प्रतिशत मत बदर भएको छ ।