राजनीतिक कोर्स बदलिनेवाला छ: कृष्णगोपाल श्रेष्ठ

24

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर-९ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले अहिलेको निर्वाचन परिणामपछि राजनीतिक कोर्स बदलिने बताएका छन् । यसबारे सबै राजनीतिक दल र नेताहरुले पुनर्विचार गर्नुपर्ने उनको मत छ ।

पत्रकारहरुलाई प्रतिक्रिया दिंदै श्रेष्ठले भने, ‘निर्वाचन परिणामपछि राजनीतिक कोर्स बदलिनेवाला छ । सबै पार्टी र नेताहरुले राष्ट्रिय राजनीतिबारे रि–थिङ्क गर्नुपर्छ ।’

राजनीतिक दललाई नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारहरुले निर्वाचनमा धक्का दिएको विषयमा सोधिएको प्रश्नमा उनले यसलाई स्वाभाविक भने । उनले भने, ‘यसलाई स्वाभाविक रुपमा लिएको छु, यस्तो ठोसाइ हुन जरुरी छ ।’

यो निर्वाचन आफूले जितेको नभई देशले जितेको हो भन्दै भारतबाट अतिक्रमित भूभाग फर्काउन पहल गर्ने बताए ।

‘मुलुकका केही भूभागहरु नक्सामा ल्याउन सफल भयौं, अब त्यसलाई प्राप्तिका लागि छिमेकी मुलुकसँग कूटनीतिक पहल गर्ने मुख्य दायित्व हुनेछ,’ उनले भने । उनले स्थानीयवासी र स्थानीय तहका जनप्रतिनिधिहरुसँग सल्लाह गरेर थप योजना बनाउने पनि बताए ।

उनले निर्वाचनमा पराजित भएकालाई निराश नभइ जनताको सेवामा अनवरत रुपमा अगाडि बढ्न आह्वान गरे ।