मोरङका सबै क्षेत्रको दिउँसो १ बजेदेखि मतगणना सुरु हुने

24

मोरङ । मोरङका ६ वटै निर्वाचन क्षेत्रको मतगणना दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । विराटनगरस्थित प्रदेश १ निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले सबै क्षेत्रको मतगणना सुरु हुने जानकारी दिए ।

सोमबार बिहान बसेको सर्वदलीय बैठकले मोरङ क्षेत्र नम्बर ४, ५, र ६ को गणना दिउँसो १ बजेदेखि सुरु गर्ने गरि सहमति गरेको हो । यसैगरि, निर्वाचन क्षेत्र नम्बर १, २ र ३ मा पनि १ बजे अगाडि मतगणना सुरु नहुने उनले बताए ।

सर्वदलीय बैठकले प्रत्यक्षसँगै समानुपातिकतर्फको मतगणना एकैपटक सुरु गर्ने भएको छ । यसका लागि विराटनगरमा हुने ३ वटा निर्वाचन क्षेत्रको मतगणनाका लागि आदर्श विद्यालयमा केही कोठा थप गरिएको छ । यसपटक मतगणनास्थलमा तारजालीको घेरा राखिएको छैन । सुरक्षित र पारदर्शी गणनाका क्रममा बासको घेरा र सिसिटिभिको व्यवस्था गरिएको छ ।

यससँगै मोरङ क्षेत्र नम्बर १ को मतगणना उर्लाबारी नगरपालिकाको कार्यालय, क्षेत्र नम्बर २ को रतुवामाई नगरपालिकाको विश्वनाथ मन्दिर र क्षेत्र नम्बर ३ को गणना बेलबारी नगरपालिकाको भगवती माध्यामिक विद्यालयमा हुनेछ ।

आइतबार सम्पन्न निर्वाचनमा मोरङमा ६६ दशमलव २२ प्रतिशत मत खसेको छ । मोरङमा ७ लाख ३५ हजार ५ सय २५ मतदातामा ४ लाख ८७ हजार ४७ मत खसेको छ ।