‘नेपाली श्रमिकका लागि घुम्ती सेवा’ सुरु

41

मलेसिया । मलेसियास्थित नेपाली दुतावासले मलेसियाका विभिन्न शहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ । नेपाली श्रमिकहरु कार्यरत रहेको शहरमै दुतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदुत डिल्लीराज पौडेलले बताए ।

बुधबार क्वालालम्पुरबाट करिब चार घण्टा मोटर बाटोको दूरीमा रहेको जोहरवारुमा राजदुत पौडेलले अस्थायी घुम्ती सेवाको उद्घाटन गरे । गैरआवाशीय नेपाली संघ लगायत नेपाली संघ संस्थाहरुसँगको सहकार्यमा घुम्ती सेवा संचालन गरिएको हो ।

एक हजार भन्दा धैरे नेपाली उपस्थित भएको कार्यक्रममा २ सय ८० जना श्रमिकले राहदानी सम्वन्धी सेवा लिएका थिए । घुम्ती सेवामा राहदानी सम्वन्धी सेवाका साथै दुतावासबाट प्रवाह गरिने विभिन्न सेवाहरु प्रदान गरिएको नेपाली दुतावासले जनाएको छ । घुम्ती सेवा उद्घाटनका क्रममा राजदुत पौडेलले नेपाली श्रमिकहरु कार्यरत कम्पनीहरुको स्थलगत निरीक्षण, सेवा सुविधाबारे श्रमिकहरुसँग अन्तर्क्रिया तथा सम्वन्धित कम्पनी व्यवस्थापनसँग छलफल समेत गरेको थिए ।

सुरक्षा गार्ड तथा सरसफाइ सम्वन्धी कम्पनीहरुमा कार्यरत नेपाली श्रमिकहरुको गुनासो आएपछी उनले सम्वन्धित कम्पनी व्यवस्थापनसँग छलफल गरेका हुन् । विशेषत सुरक्षागार्ड र सरसफाइ सम्वन्धि श्रमिकको समस्या समाधानका लागि दुई देशबीच भएको श्रम-सम्झौता २०१८ र मलेसियाको श्रम कानुन अनुसार व्यवस्थित गर्न लागिएको राजदुत पौडेलले बताए ।

राजदुत पौडेलले नेपाली श्रमिक कार्यरत तथा नेपाली श्रमिक माग गर्ने कम्पनीका व्यवस्थानलाई दुतावासमा बोलाएर समेत छलफल गर्दै आएका छन् । मागपत्रमा प्रस्तुत गरे अनुसार आवास सुविधा, पारिश्रमिक र कार्यसमयलाई अक्षरस पालना गरिने उहाँले बताए ।