भक्तपुरमा चुनावी चटाराे

65

काठमाडाैँ । मतदान गर्ने दिन नजिकिएसँगै भक्तपुर निर्वाचन क्षेत्र नं १ का उम्मेदवारहरूले आफ्नो प्रचारप्रसारलाई तीव्रता दिएका छन्। विभिन्न राजनीतिक दलका उम्मेदवारका साथै स्वतन्त्र उमेदवारहरू पनि पुरानै आश्वासनका बोकेर मत माग्न घरदैलोमा व्यस्त भएका हुन्।

उम्मेदवारहरूको घरदैलोमा स्थानीय किसानहरूले भने मल नपाएको गुनासो गरेका छन्। अहिले देशभरका उम्मेदवारहरू आफ्नो अन्तिम प्रचारप्रसारका लागि दौडधुप गरिरहेका बेला भक्तपुर निर्वाचन क्षेत्र नं १ मा पनि चुनावी चटारो राम्रै देखिन्छ।

विभिन्न राजनीतिक दल र स्वतन्त्र उमेदवारहरु मतदाताको घरघरमा पुगेर आफूले जिते सडक, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतको व्यवस्था गरिदिने भन्दै पुरानै आश्वासनकासाथ मतदातालाई आफ्नो पक्षमा पार्न दौडधुप छ। केन्द्रीय सचिव प्रेम सुवाल दोस्रो कार्यकाका लागि मैदान छन् भने सत्ता गठबन्धनबाट सुनिल गोठे र नेकपा एमालेबाट नवराज गेलाल मैदानमा छन्। सत्ता गठबन्धन र एमालेसामु नेमकिपा प्रमुख चुनौती देखिए पनि उम्मेदवारहरूले यस पटक मतदाताले नयाँ पार्टी रोज्ने बताउदै चुनावी मैदानमा होमिएका छन्।

भक्तपुर निर्वाचन क्षेत्र नं १ मा चार जना स्वतन्त्रसहित कुल १४ जना उम्मेदवारहरू मैदानमा छन्। प्रदेशसभातर्फ भने क्षेत्र-१ (ख) नेमकिपाकै प्रभाव क्षेत्र देखिए पनि क्षेत्र-१ (क) मा भने अवस्था कमजोर छ।

क्षेत्र-१ (ख) मा नेमकिपाका सुरेन्द्रराज गोसाईं दोस्रो कार्यकालका लागि मैदानमा छन् भने क्षेत्र–१ (क) मा नेमकिपाका मीनबहादुर बाटा मैदानमा छन्।

क्षेत्र–१ (क) मा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका सुरेश श्रेष्ठ, एमालेबाट मोहनवीर श्रेष्ठलगायत १८ जना मैदानमा छन्। उनीहरू प्रायः सबैले नगरकोट सडक खण्ड स्तरोन्नतिको कामदेखि स्वास्थ्य, शिक्षा खानेपानी लगायतका क्षेत्रमा प्राथमिकता दिएर काम गर्ने भन्दै मतदानसामु हारगुहार गर्दै आफ्नो प्रचारप्रसारलाई तीव्रता दिएका छन्।