उद्योगीलाई बैंकमा लगानी गर्न रोक्नुपर्छ: डा. चिरञ्जीवी नेपाल

9

बुटवल । पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले उद्योगी र बैंकर छुट्टिनुपर्ने बताएका छन् । एउटै व्यक्ति उद्योगी र बैंकर बन्दा सीमित एवं ठूला उद्योगी व्यवसायी मोटाउने र साना तथा मझौला उद्योगी व्यवसायी दुव्लाउने अवस्था आएको भन्दै उनले यसको अन्त्यका लागि उद्योगी व्यवसायीले कुनै एउटा क्षेत्र रोज्नुपर्ने बताए ।

नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशले सोमबार बुटवलमा आयोजना गरेको उद्योगी व्यवसायीसँगको छलफलमा पूर्वगभर्नर नेपालले ब्याजदर घटाउन सरकारले पनि ठोस आर्थिक नीति ल्याउन नसकेको टिप्पणी गरे । ‘पुँजीगत खर्च बढाउन सक्ने हो र बजारमा पैसा आउने हो भने ब्याजदर स्वतः घट्छ, यसका लागि सरकारले उद्योग धन्धामा लगानी बढाउनुपर्छ’, उनले भने ।

बैंकको स्प्रेड दर घटाउने, आधार दर साढे ७ वा ८ प्रतिशतमा झार्ने र सिडिरेसियो कम गर्ने हो भने बैंकको ब्याजदर घटाउन सकिने नेपालको तर्क छ । अहिले बैंक वित्तीय संस्थाले मुद्दति निक्षेपमा १५ प्रतिशतसम्म ब्याजदर दिंदै आएका छन् भने कर्जाको ब्याजदर १८ प्रतिशतभन्दा माथि पुर्‍याएका छन् ।

सरकारले आर्थिक सुधारको नीति अवलम्बन गर्नुको साटो केन्द्रीय बैंकसँग निहुँ खोज्ने काम गरेको र केन्द्रीय बैंकले पनि मौद्रिक नीति बनाउँदा अहिलेको अर्थतन्त्रको मूलभूत समस्या सम्बाेधन गर्न चुकेको उनको भनाइ छ । कोरोना महामारी तथा रुस–युक्रेन युद्धका कारण मुद्रास्फीतिमा चाप पर्दा अर्थतन्त्रमा समस्या आएको विश्लेषण गर्दै पूर्वगभर्नर नेपालले भने– ‘अब अर्थतन्त्र माथि उकास्नका लागि सरकारले बजारमा पर्याप्त पैसा पठाउनु पर्छ ।’

अर्थतन्त्रमा संकट आए पनि नेपाल श्रीलंकाको अवस्थामा भने नपुग्ने पूर्वगभर्नर नेपालको विश्लेषण छ । ‘श्रीलंका मूलतः चर्को ब्याजमा लिएको वैदेशिक ऋणको मारमा परेर संकटमा पुगेको हो, तर नेपालले लिएको वैदेशिक ऋण सहुलियतपूर्ण ब्याजदरमा छ । सात अर्वमा झरेको विदेशी मुद्राको संचिति नाै अर्व ३५ करोड पुगेको छ, त्यसैले डराउनुपर्ने अवस्था छैन,’ उनले भने ।

सरकार उद्योग स्थापना गर्ने भन्दा पनि राजस्वमुखी भएकाले दीर्घकालका लागि भने समस्या हुन सक्ने उनको विश्लेषण छ । ‘सरकारले उद्योगी व्यवसायीलाई सहुलियतपूर्ण कर्जामा अरवौं रकम उद्योगी व्यवसायीलाई दिएको छ, तर त्यो उद्योग स्थापनामा लगानी हुन सकेको छैन, सरकारले यसमा जोड दिनुको साटो आयातमा जोड दिएर राजस्व बढी उठाउने नीति लिएको छ, जसले दीर्घकालमा संकट निम्त्याउन सक्छ,’ उनले भने ।