होटलमा लगेर यौनधन्दा

63

नेपालगञ्ज । पैसाका लागि जे पनि गर्न थालिएको छ। नेपालगञ्जमा भएको घटनाले पैसाका लागि मान्छे जुनसुकै हदसम्म गिर्न सक्छ भन्ने देखाएको छ।

नेपालगञ्जको एक होटलमा दुई युवती श्रीमान्–श्रीमती भएर बस्छन्। श्रीमान् भनिएकी युवतीले बाहिरबाट केटा बोलाएर श्रीमतीसँग यौन सम्पर्क गराउँछन्। कोठाको ढोकामा बसेर उनले श्रीमतीसँग यौन सम्पर्क गराएर रकम लिन्छन्।
केही दिनसम्म चलेको यो घटना प्रहरीकहाँ आइपुग्छ। प्रहरीले दुवैलाई समातेर अनुसन्धान थाल्छ। श्रीमती भनिएकी युवती त्यो श्रीमान् बनेकी युवतीलाई छाड्न चाहँदैनन्।

घरपरिवारका सदस्यले आएर सम्झाउँदासम्म उनीहरू छुट्टिन चाहेनन्।
युवकको जस्तो छोटो कपाल काटेकी श्रीमान् भन्ने युवती विवाहित हुन्। श्रीमान् छाडेर बसेकी उनले युवतीसँग दोस्ती गरेर यौनधन्दामा लगाउने गरेको पाइएको छ। बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले एक कार्यक्रममा वेश्यावृत्तिको उदाहरण दिँदै यो घटना सार्वजनिक गरेका हुन्।

एसपी अधिकारीका अनुसार नेपालगञ्जमा वेश्यावृत्तिका अनेक रुप देखिन थालेको छ। लागुऔषधको समेत कुलतमा फसेका बालिका, किशोरी यौनधन्दामा पुगेका छन्। एसपी अधिकारीले दुई दिनअघि राति ११ बजे नेपालगञ्ज बजारबाट केही किशोरीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीहरू तेस्रो÷चौथो पटक प्रहरी कार्यालयमा आइपुगेको भेटिएको जानकारी दिए।

‘प्रहरीले कति समात्ने ? कति दिन राख्ने ? राख्ने ठाउँ पनि छैन, वेश्यावृत्तिमा लागेकाहरू सुध्रिएको पाइएको छैन, एसपी अधिकारीले भने, ‘राति ११/१२ बजे आफ्ना छोरीहरू कहाँ जान्छन्। के गर्छन् अभिभावकले हेर्नुपर्‍यो।’

सीमावर्ती सहर नेपालगञ्जमा लागुऔषध सेवन गर्ने युवतीको संख्या बढ्दो छ। भारतीय बजार रुपैडिहाबाट नेपालगञ्ज आइपुग्ने लागुऔषध सेवनकर्तामध्ये अधिक यौनकर्ममा लागेको अनुसन्धानहरू देखाएको छ।