निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी पूरा

28

रसुवा । प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचन सम्पन्न गर्न जिल्लामा आवश्यक तयारी पूरा भएको छ । निर्वाचन आयोगबाट प्राप्त मतपत्र रूजु गर्ने कार्य पूरा भइसकेको, मतपेटिका, स्वस्तिक छाप, स्टाम फाइललगायत सामग्री भाग लगाई तयारी हालतमा राखी सबै प्रकारका व्यवस्थापकीय कार्य सम्पन्न भएको हो ।

सहायक निर्वाचन अधिकृत (उपसचिव) मुना अधिकारी ढकालका अनुसार निर्वाचनका लागि मतदान अधिकृत तथा सहायक मतदान अधिकृत एवं अन्य सहायक कर्मचारीको नियुक्ति तथा केन्द्र तोक्ने कामसमेत सम्पन्न भइसकेको छ । पारदर्शी नीति अवलम्बन गर्दै मतदान केन्द्रमा जाने सबै कर्मचारीको नामावली मुख्य निर्वाचन अधिकृतको कार्यालयमा टाँससमेत गरिएको छ ।

निर्वाचनका लागि ५३ अधिकृतस्तर एवं ५२ कार्यालय सहयोगी र रापअन प्रथम तथा द्वितीय श्रेणीका नायब सुब्बा तथा खरिदारसरहका तीन सय ११ सहायक कर्मचारीसमेत गरी कूल चार सय १६ कर्मचारी परिचालन गरिने सहायक निर्वाचन उनले बताए । खटिएका मतदान अधिकृतलाई तालिम प्रदान गरी मतदान केन्द्रमा पठाइने बताइएको छ ।

चौँतीस स्थानका ५२ मतदान केन्द्रबाट जिल्लामा १९ हजार तीन सय ४० महिलासमेत कूल ३९ हजार चार सय ५९ मतदाता, मतदानमा सहभागी हुने जनाइएको छ ।  यस्तै अस्थायी मतदातामा भने सात सय ९२ जनाको नामावली तयार भएको छ । तीमध्ये नेपाली सेनाका ७२, सशस्त्र प्रहरी बलका ५७, नेपाल प्रहरीका ३७, निजामतिलगायत विभिन्न सरकारी निकायका छ सय १२ कर्मचारीका साथै कारागारका १४ कैदीबन्दीले मतदान गर्न पाउने जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए ।

एक निर्वाचन क्षेत्र र दुई प्रदेश रहेको यस जिल्लामा पाँच गाउँपालिमा छन् । ५२ मतदान केन्द्रमध्ये सबैभन्दा बढी मतदाता रहेको आमाछोदिङ्मो गापाको वडा नं ३ गतलाङस्थित नेपाल राष्ट्रिय मावि मतदान केन्द्रबाट एक हजार ४२ जनाले मतदान गर्ने र सबैभन्दा घटी गोसाइँकुण्ड गाउँपालिका वडा नं २ टिमुरे मतदान केन्द्रमा चार सय ६५ मतदाताले मतदान गर्ने भएका छन्  ।

मतपत्रलाई सहीरूपमा सदुपयोग गराउन मतदाता शिक्षा अगाडि बढिरहेको, बिहीबारसम्म तीन स्थानमा नमूना मतदान गराउने कार्य सम्पन्न भइसकेको र मतदान केन्द्रमा  आवश्यक पर्ने सबै प्रकारका सामग्री प्याकिङ गर्ने कामसमेत सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी थापाले जानकारी दिए । यस्तै निर्वाचनका लागि आवश्यक पर्ने यथेष्ट सुरक्षा व्यवस्था मिलाइएको छ भन्दै प्रमुख जिल्ला अधिकारी नवराज जैसीले निर्वाचनमा सुरक्षाका लागि पहिलो पङ्क्तिमा नेपाल प्रहरी, दोस्रो पङ्क्तिमा सशस्त्र प्रहरी र तेस्रो पङ्क्तिमा नेपाली सेना परिचालन हुने भएकाले सुरक्षा व्यवस्थामा कुनै कमी नआउने हुँदा  निर्धक्कसँग मतदान कार्यमा शरिक हुन आम मतदातामा आग्रह गरे।

यसैगरी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा अनुगमनका कार्यसमेत भइरहेको जनाइएको छ । टेलिफोनमार्फत आएका केही सामान्य गुनासालाई छलफलका माध्यमबाट स्थानीयस्तरमै निराकरण गरिसकिएकाले  जिल्लामा आचारसंहिता उल्लङ्घनका समस्या खासै नभएको प्रमुख कोष नियन्त्रक एवं आचारसंहिता जिल्ला अनुगमन संयोजक हेमराज पौडेलले बताए ।