सरकारले भुरा माछा खोलामा छाड्ने, स्थानीयले मार्ने

67

हेटौंडा । पूर्वी मकवानपुरको वागमती गाउँपालिका वडा नम्बर–४, झुरझुरेस्थित वागमती नदीमा १ लाख माछाका भुरा छाडिएको छ । प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवम् संरक्षण केन्द्र हेटौंडाले वागमती नदीमा रहु र नैनी जातका १ लाख माछाका भुरा नदीमा छाडेको हो ।

वागमती गाउँपालिका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यता र प्रकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवम् संरक्षण केन्द्र हेटौंडा प्रमुख सरोजकुमार यादवको सभाध्यक्षता रहेको कार्यक्रममा भुरा छाडिएको हो ।

कार्यक्रममा घलानले पालिकामा माछा मारेर जीविका चलाउने समुदाय रहेको भन्दै भविष्यमा उक्त कार्यले उक्त समुदायलाई सहयोग पुग्ने बताए । घलानले वर्तमान समयमा खोलानालमा विभिन्न विद्युतीय उपकरण प्रयोग र कलकारखानाबाट फालिएका विभिन्न केमिकलले खोलामा माछाको संख्या घट्न पुगेको बताउउँदै त्यस्तो कार्य सबै मिलेर रोक्नुपर्ने बताए ।

कार्यालय प्रमुख यादबले प्राकृतिक जलाशयमा जलीय जैविक विविधता संरक्षण तथा त्यसमा आश्रित समुदायको जीवन उकास्नका लागि स्थानीय जातका माछा छाड्ने गरिएको बताए । खोलामा फोहोर ढल मिसाउने, विषादी हाल्ने, करेन्ट लगाउनेलगायत कारण जलचर मासिने क्रम बढेकाले यसको संरक्षण गरी नदीमा आश्रित समुदायको जीवनस्तर विकासका लागि उक्त कार्य गरेको कार्यालय प्रमुख यादवले बताए ।

उनले नेपालमा ४ लाख १ हजार हेक्टर प्राकृतिक जलाशय क्षेत्रफल रहेको र देशमा उत्पादन हुने कुल ९७ हजार मेट्रिकटन माछामध्ये २१ प्रतिशत माछा प्राकृतिक जलाशयबाट उत्पादन हुने गरेको जानकारी दिए । जसमध्ये प्राकृतिक जलाशयमा ४ लाख जनसंख्या निर्भर रहेको यादबले बताए ।

कार्यालयले यसअघि नारायणी नदीमा ४० हजार भुरा छाडेको थियो भने मकवानपुरको सामरी नदीमा ३४ हजार माछाका भुरा छाडेका थियो । आर्थिक वर्ष २०७९/०८० को कार्यालयको वार्षिक कार्यक्रमका रुपमा ६ वटा कार्यक्रम रहेकोमा आगामी कार्यक्रम कोशी, कर्णाली, सप्तकोशी, कालीगण्डकीलागायत नदीमा रहेको जानकारी गराइएको थियो ।