भुसालले स्वतन्त्र उम्मेदवार थापालाई समर्थन गर्ने

65

बुटवल । रुपन्देही–२ को प्रतिनिधिसभा सदस्य पदमा लौरो अभियानका कमल भुसाल निकोलसले स्वतन्त्र उम्मेदवार रुपसिंह थापालाई समर्थन गर्ने भएको छ । रुपसिंह थापाले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा हाम्रो नेपाली पार्टीकी लुम्बिनी प्रदेश संयोजक इशा खड्काले स्वतन्त्र उम्मेदवार थापालाई सहयोग गर्ने सहमति भएको खुलासा गरे ।

रुपन्देही २ मा आफ्नो पार्टीको लौरो चिन्ह लिएका उम्मेदवार कमल भुसाल (निकोलस) को उम्मेदवारी खारेज भएको अवस्थामा स्वतन्त्रहरुलाई नै जिताउने आफ्नो अभियान भएकाले थापालाई समर्थन गर्ने सहमति भएको खड्काले बताए ।

पत्रकार सम्मेलनमा स्वतन्त्र उम्मेदवार रुपसिंह थापाले सत्तामा भएका दलहरु एक्लाएक्लै आफ्नो विचार र सिद्धान्त लिएर चुनावमा आउनुपर्नेमा हार्ने डरले गठबन्धन गरेका आरोप लगाए । गठबन्धनको संस्कृतिले राजनीति झन् विकृत बनाएको थापाको आरोप छ । उनले निर्वाचनमा कसैको बहुमत नआएपछि सत्ता संचालनका लागि सरकार वनाउन गठबन्धन जरुरी हुने बताउदै निर्वाचनमा भएको गठबन्धन उपयुक्त नभएको जिकिर गरे ।

बुटवलका पूर्व मेयर समेत रहेका थापाले सत्ता गठबन्धनले पनि शुरुमा आफूलाई समर्थन गर्ने बताएको तर पार्टीका शीर्ष नेताहरुको दबाबमा विचार सिद्धान्त नमिल्ने जनमुक्ति पार्टीलाई समर्थन गरेको गुनासो गरे।