नेपाली सेना फोटो प्रतियोगिता गर्दै

157

काठमाडौं । नेपाली सेनाले आन्तरिक फोटो प्रतियोगिता गर्ने भएको छ । आज (बिहीबार) उसले सूचनामार्फत फोटो प्रतियोगिता सञ्चालन गर्ने जानकारी गराएको छ ।

विविध गतिविधिलाई फोटोको माध्यमबाट अभिलेख गर्ने तथा आवश्यक परेको समयमा उपयोग गर्न सहज बनाउने उद्देश्य अनुरुप फोटो प्रतियोगिता गर्न लागेको सेनाले जनाएको छ । गत वर्षबाट उक्त प्रतियोगितामा गैरसैनिक व्यक्तिलाई समेत समावेश गरी सञ्चालन गरिएको थियो । यस वर्ष (२०७९) पनि उसले सोही अनुरुप प्रतियोगितालाई निरन्तरता दिने भएको छ ।

उक्त प्रतियोगितामा सहभागी हुनको लागि आवश्यक फोटो तथा विवरणहरु गैरसैनिक व्यक्तिको हकमा आगामी मंसिर १४ गतेभित्र नेपाली सेनाको आधिकारिक वेबपेजको लिङ्क https://photo.nepalarmy.mil.np मा अपलोड गर्नुपर्नेछ । प्रतियोगितामा २०७८ सालदेखि २०७९ सालसम्म खिचिएका तस्विरहरुलाई मात्र समावेश गरिने सूचनामार्फत जानकारी गराइएको छ ।

फोटो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने फोटोहरुलाई सैनिक तथा गैरसैनिक दुवैतर्फ क्रमशः ५० हजार, ३५ र २५ हजार नगदसहित प्रमाण पत्र प्रदान गरिने छ । त्यस बाहेक सैनिकतर्फका ७ र गैरसैनिकतर्फका २ गरी जम्मा ९ वटा थप उत्कृष्ट फोटोहरुलाई सान्त्वना पुरस्कारसहित १० हजार नगद प्रदान गरिने सेनाले जानकारी गराएको छ ।