नेपथ्यको दुबई कन्सर्ट सम्पन्न

57

दुबई । अवसरको खोजीमा विदेशीएका नेपालीलाई उनीहरुको पहिचानसँग जोड्दै नेपथ्यको दुबई कन्सर्ट सम्पन्न भएको छ। युनाइटेड अरब इमिरेट्सअन्तर्गत विश्वकै एक प्रमुख व्यापारिक केन्द्र हो दुबई। यो सहरभित्र विभिन्नखाले खेलकुद स्टेडियमहरु समेटेको विशाल परिसर ‘अल नासेर लिजरल्याण्ड’मै आइतबार नेपथ्य तेश्रोपटक प्रस्तुत भएको थियो।

अघिल्ला कन्सर्टहरुभन्दा थोरै बेग्लै यसपाला नेपथ्यले पहिलो गीत नै दर्शकलाई उफार्ने गरी ‘हो रामा रामा बाट सुरु गरेको थियो। यसरी प्रारम्भबाटै तीब्रता बोकेको सांगीतिक माहोलले गर्दा अरुबेला ‘आइस हकी’ खेलिने ‘कार्पेटले ढाकिएको बरफ मैदान’ सुरुदेखि तातिन पुग्यो।

खाडी राष्ट्रहरु नेपाली कामदारका निम्ति प्रमुख गन्तव्य बन्दै आएका छन्। युएईले भने पछिल्लो समय नेपाली विद्यार्थीहरुलाई पनि आकर्षित गर्दै आएको छ। अमेरिकाको ‘न्यूयोर्क युनिभर्सिटी’ले एक दशकअघि स्थापना गरेको अबुधाबीस्थित विश्वविद्यालयमा पढ्दै आएका विद्यार्थीहरुको समूह दुई घन्टा लामो राजमार्ग यात्रा गरेर नेपथ्य अनुभवका लागि दुबई आइपुगेका पनि भेटिए।

‘हामी १७ जना साथीहरु समूह बनाएरै आएका छौँ,’ अल नासेरको परिसरभित्र भेटिएका संयम लामिछाने भनिरहेका थिए, ‘इन्टरनेटबाट नेपथ्य आउने खबर पाउनासाथ संगीतमा रुची राख्ने साथीहरु यो यात्राको तयारीमा जुट्न सुरुगरेका थियौँ।’

संयम एक वर्षदेखि उक्त विश्वविद्यालयमा कम्प्युटर र गणितका विद्यार्थी हुन्। ‘सानैदेखि नेपथ्यको गीत सुनेर हुर्किएको भएता पनि बुढानीलकण्ठ स्कुलको होस्टल जीवनले गर्दा कन्सर्ट हेर्ने मौका पाएको थिइनँ,’ संयम भनिरहेका थिए, ‘उच्च शिक्षाका लागि विदेश आएपछि भने बल्ल यो मौका जुरेको छ।’