सहिद स्मृति पार्क अस्तव्यस्त (तस्विरसहित)

118

काठमाडाैँ । करोडौँ रुपैयाँ खर्च गरेर निमार्ण गरिएको रौतहटको चन्द्रपुर नगरपालिका -२ स्थित सहिद स्मृति पार्क अहिले झाडीमा परिणत हुँदै गएको छ। संरक्षण र प्रवर्द्धनको अभावमा सो पार्क र त्यहाँका संरचनाहरू दिनानुदिन जीर्ण हुँदै गइरहेका हुन्।

सो पार्कमा धेरैभन्दा धेरै पर्यटक भित्र्याएर पर्यटनको विकास गर्ने लक्ष्य अहिले लक्ष्यमा नै सीमित भएको छ। वनटोल महिला सामुदायिक वनको करिव १४ रोपनी क्षेत्रफलमा फैलिएको सो ‘शहीद स्मृति पार्क’ अहिले झाडीले ढाकिएको छ। पार्कका घुम्ने स्थानमा जताजतै झाडी र फोहोर हुँदा अहिले पर्यटकको आवागमन शून्य बराबर छ।

पूर्व-पश्चिम लोकमार्गसँगै जोडिएको सो पार्क पिकनिक खाने, घुम्ने पर्यटकहरूका लागि नभई लोकमार्ग हुँदै यात्रा गर्ने यात्रुहरूका लागि पनि एकछिन सुस्ताउने राम्रो गन्तव्य बन्ने प्रचुर सम्भावना थियो। त्यसैगरी, चन्द्रपुरका स्थानीयहरूलाई मर्निङ वाक गर्न, बालबच्चा घुमाउन, हरियालीमा समय बिताउन पनि पार्क महत्त्वपूर्ण हुनसक्ने स्थानीय प्रह्लाद गौतम बताउँछन्।

स्थानीयहरू यसलाई जसरी पनि संरक्षण र प्रवर्द्धन गर्नुपर्ने माग गर्दै आइरहे पनि स्थानीय सरकार मौन रहेको उनकाे भनाइ छ। सो पार्कमा हाल सहिद स्तम्भ, ४ वटा पोखरी, चिल्ड्रेन पार्क, चौतारा लगायतका संरचनाहरू रहेका छन्। पार्कभित्र रहेको पोखरी अहिले झाडीले पुरिएको छ। सो पोखरीलाई सफा गरेर माछा पालनसँगै डुङ्गा सञ्चालन गर्नसके पर्यटकको आकर्षण बढ्न सक्ने स्थानीयहरू बताउँछन्। निमार्ण अवधिदेखि नै पार्कको स्वामित्वमा विवाद आइरहेको छ। सो पार्कको व्यवस्थापन हाल सहिद स्मृति पार्क व्यवस्थापन समितिले गर्दै आइरहेको छ।

तर वनटोल महिला सामुदायिक वन उपभोक्ता समूहले भने आफ्नो वन क्षेत्रमा पर्ने भएकाले आफूहरूको त्यसमा निर्विवाद स्वामित्व हुनुपर्ने दाबी गर्छन्- वनटोल महिला सामुदायिक वनका अध्यक्ष खड्ग बोम्जन। कोरोनाकालमा सो पार्कमा रहेका संरचनाहरुलाई थपघट गरेर आइसोलेसन निमार्ण गरिएको थियो। पार्कमा सुरुवाती लगानीबाहेक हालसम्म राज्यका कुनकुन निकायको के कति लगानी भइसकेको छ भने स्पष्ट तथ्याङ्क कसैसँग पनि छैन।

केही व्यक्ति र समूहले सो पार्क देखाएर बजेट ल्याउने र खाने भाडो बनाउने माध्यम बनेको स्थानियको आरोप छ। यता स्थानीय सरकार भने स्वामित्वको विवादले गर्दा आफूहरूले त्यसमा चाहेर पनि केही गर्न नसकेको बाध्यता रहेको बताउँछ। चन्द्रपुर २ का अध्यक्ष दुक्तबहादुर थिङ पार्क कसको स्वामित्वमा रहने भन्ने विवादका कारण कुनै पनि काम हुन नसकेको बताए। बढ्दो सहरीकरणसँगै चन्द्रनिगाहपुर आसपासमा बिस्तारै खुला हरियाली स्थानको कमी हुँदै गइरहेको छ। राज्यको करौडौँ लगानी भइसकेको सो पार्कलाई व्यवस्थित ढंगले सञ्चालन गर्नसके पर्यटकीय स्थलसँगै चन्द्रनिगाहपुरवासीको लागि खुला स्थलको उत्तम विकल्प पनि बन्नसक्ने देखिन्छ। यसको लागि सरोकारवाला सबैको ध्यान जानु अत्यावश्यक देखिएको छ।