टेनिसमा आर्मी चार स्वर्णसहित च्याम्पियन

33

काठमाडाैँ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसतर्फ विभागीय टिम त्रिभवुन आर्मी क्लबले चार स्वर्णसहित १० पदक जितेर टिम च्याम्पियन बनेको छ।

यसैगरी गण्डकी प्रदेशले तीन स्वर्ण र दुई कास्यसहित पाँच पदक जितेर दोस्रो बन्दा बागमती प्रदेश एक कास्य र चार रजत पदक जित्दा एपिएफले एक कास्य र तीन रजत हात पार्‍याे।

नेपाल प्रहरीले एक रजत र तीन कास्य पदक जित्दा एनआरएनले एक रजतमा चित्त बुझायो। यसैगरी, आज सम्पन्न टेनिसको पुरुष एकलतर्फको प्रतिस्पर्धामा गण्डकीका प्रदीप खड्का र महिलातर्फ नेपाली सेनाका अभिलाषा विष्टले स्वर्ण पदक हात पारे।

पोखरा रङ्गशालाको टेनिस कोर्टमा भएको फाइनल प्रतिस्पर्धामा पुरुष एकलमा गण्डकीका खड्काले एनआरएनएका आरभ सम्राट हाडालाई ७-६,६-३ सेटमा जित निकाल्दै स्वर्ण पदक हात पारे। नेपालको पहिलो वरियताका खड्काले स्वर्ण जित्दा हाडाले कास्यमा चित्त बुझाए।

यसैगरी, महिला एकलतर्फको प्रतिस्पर्धामा सेनाका अभिलाषाले सेनाकै इरा रावतलाई ६-१,६-६ सेटमा पराजित गर्दै स्वर्ण हात पार्दा महिला एकलतर्फ सेनाले स्वर्ण र रजत पदक जित्दा बागमतीका रायना शाह र प्रकृति श्रेष्ठले कास्य पदक जिते।