सवारी दुर्घटना, १० जनाको मृत्यु

22

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ।

बझाङको मष्टा गाउँपालिका–१ चिउरीमा चैनपुर देखी रनडातर्फ जाँदै गरेको सु.प.प्र.०४००१ च ०१११७ नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। जिप अनियन्त्रित भई बुधबार सडकबाट करिब ३ सय मिटर तल खसेको थियो।

मृत्यु हुनेहरूमा मष्टा गाउँपालिका–२ बस्ने १३ वर्षीय सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, १४ वर्षीय प्रचण्ड खड्का, २८ वर्षीया बसन्ती धामी कठायत,  बसन्ती धामी कठायतकी ७ महिनाकी छोरी दिक्षिका कठायत, ३८ वर्षीय वीरेन्द्र अधिकारी, कञ्चनपुर शुक्लाफाटा नगरपालिका–७ का ५० वर्षीय झरेन्द्र बोहरा र सोही गाउँपालिका–१ रनाडा बस्ने ५० वर्षीया सिन्की देवी भण्डारी रहेका छन्। दुर्घटनामा घाइते भएका जिप चालक सोही गाउँपालिका–१ लेकी बस्ने ३५ वर्षीय राजेश रोकाया सहित १७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

धादिङको धुनिवेशी नगरपालिका–४ जिवनपुरस्थित सडकमा प्रदेश नम्बर–३ –०१–००६ ख १५८१ नम्बरको आईचर ट्रक बुधबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रकमा सवार धादिङ जिल्ला धुनिवेशी नगरपालिका–४ जिवनपुर घर भएका ५० को रामचन्द्र पुडासैनी छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि काठमाडौँतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका ट्रकमा सवार अन्य एक जनाको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ।

कपिलवस्तुको वाणगंगा नगरपालिका–८ चप्परगाउस्थित सडकमा ना.६ ख ७३५१ नम्बरको बसले लु.२० प ५४९४ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देही ओम सतिया गाउँपालिका–१ बस्ने ३२ वर्षीय  सुमन थारु छन्। ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते मोटरसाइकलमा सवार अन्य एक जनाको एडमन सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।