Friday, October 16, 2026
Home राजनीति निःशुल्क कोटामा मलेसिया जाने युवाहरूको भीड

निःशुल्क कोटामा मलेसिया जाने युवाहरूको भीड

42

बारा । परवानीपुर गाउँपालिका- ३ लिपनीमालको बिएस पार्टी प्यालेसमा आइतबार बिहानदेखि निःशुल्क कोटामा मलेसिया जाने युवाहरूको भीड छ। ललितपुरस्थित ग्वार्कोमा रहेको इन्टरनेसनल म्यानपावर रिक्वायरमेन्ट कम्पनीमार्फत् बारा निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवारले युवाहरूको अन्तर्वार्ता लिन थालेको पाइएको हो।

मलेसियामा रहेको स्याकारिता सिनकलंङ्ग प्लाष्टिक इन्डष्ट्रिज कम्पनिमा “फ्रि टिकेट, फ्रि भिजा” दिएर पठाउने योजना छ। चुनावलाई केन्द्रित गरेर नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठले निःशुल्क कोटामा वैदेशिक रोजगारीमा पठाउने भन्दै युवाहरूलाई प्रलोभनमा पार्ने काम भएको र युवाहरूलाई वैदेशिक रोजगारीमा पठाउन थालेको अन्तर्वार्ता दिन आएका युवाहरू बताउँछन्।

उनीहरूका अनुसार नेता श्रेष्ठकै पहलमा निःशुल्क कोटामा विदेश जान पाइने पूर्व सूचनाअनुसार अन्तर्वार्ता लिइएको छ। यता नेता श्रेष्ठका प्रतिष्पर्धी एकबल मियाँले निःशुल्क कोटामा वैदेशिक रोजगारीमा पठाउने भन्दै युवाहरूलाई प्रलोभनमा पार्ने काम गरेकोप्रति आपत्ति जनाए।

बारा क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेता श्रेष्ठले निर्वाचनको मिति घोषणा भइसकेपछि र उम्मेदवारी मनोनयन दर्ता पनि भइसकेको अवस्थामा जनतालाई प्रलोभनमा पार्ने काम गर्नु निर्वाचन आचारसंहीता विपरीत भएकाले निर्वाचन आयोगले तत्काल कारबाही अघि बढाउनुपर्ने उनको माग छ। बारा क्षेत्र नम्बर ४ बाट एमालेका उम्मेदवार मियाँले चुनावमा आफ्नो भोट बढाउनका लागि नै पूर्व श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री समेत रहेका श्रेष्ठले जनतालाई प्रलोभनमा पार्ने काम गरिरहेको आरोप लगाए।

उनले प्रतिष्पर्धी श्रेष्ठले निर्वाचन क्षेत्रमा मदरसा बनाइदिने, स्विमिङ पुल र छात्राहरूका लागि छुट्टै विद्यालय बनाइदिने जस्ता प्रलोभन दिएको आरोप लगाए।। उम्मेदवार मियाँले नेता श्रेष्ठ समग्र देशको मन्त्री हुँदा कुनै काम नगरेको तर चुनाव जित्नका लागि जनतालाई भ्रम छर्ने काम भइरहेको भन्दै जनताले यसको फैसला गर्ने बताए।

उनले भने, ‘उहाँ अब संघीय संसदमा तनहुँबाट जित्नुभएको छ, म बारा क्षेत्र नम्बर ४ बाट हो। हामी अब जनताको अदालतमा पुगेका छौँ। दुवै जनालाई जनताले फैसला गर्ने हो। युवा रोजगार जुन छ, युवालाई लागि रोजगार पठाइदिन्छु भन्नुभयो, ठिक छ। अस्ति कुन म्यानपावरलाई यहाँ ल्याएर त्यो काम गर्नुभयो। मलाई राम्रो लाग्यो। तर यो काम मन्त्री हुँदा गरेको भए धन्यवाद दिन्थेँ। त्यतिबेला एकजनालाई पनि गर्नुभएन। चुनाव घोषणा र मनोनयन दर्ता भइसकेपछि फ्रि भिसामा विदेश पठाइदिन्छु भन्नेकुरा जनतालाई भ्रम छर्दै हुनुहुन्छ। यस्तो गर्नु राम्रो होइन। जनतालाई लोभ्याउने काम भएको छ। मस्जिदमा पनि मदरसा बनाइदिन्छु, लेडिज बच्चालाई पढ्ने ठाउँ बनाइदिन्छु, स्विमिङ पुलसमेत बनाउँछु भनेर भ्रम फैलाउँदै हिँड्नुभएको छ। आफ्नो तनहुँमा कत्तिको गर्नुभएको छ, त्यो हेर्नुपर्छ।’