पाेखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशले पहिलो स्वर्ण पदक जितेको छ। पोखरा रंगशालाको एथ्लेटिक्स ट्र्याकमा पुरुष ३००० मिटरको स्टिपल चेजमा कर्णालीका दुर्गाबहादुर बुढाले पहिलो स्वर्ण पदक जितेका हुन्। सोमबार बिहान भएको खेलमा बुढाले निर्धारित दुरी ८ मिनेट ५५.१९ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारे।
स्वर्ण जिते पनि उनको स्वर्ण गुम्न सक्ने जोखिम देखिएको छ। बुढाले छिमेकी देश भारतबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्दै आएको दावी गर्दै त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब र गण्डकी प्रदेश गरी चार टिमले प्रोटेस्ट दर्ता गरेका छन्। यदि उनले भारतबाट खेलेको प्रमाणित भएमा उनको स्वर्ण खोसिने छ। प्रोटेस्ट दर्ता गर्ने क्रममा चार टिमले भारतबाट अन्तराष्ट्रिय सहभागिता भएका कारण उनले नेपालबाट हुने अन्तराष्ट्रिय इभेन्टमा नखेलेकाले उनको जारी प्रतियोगिताको सहभागिता रद्द गर्न माग गरेका छन्।
‘आठौँ राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशबाट सहभागी भई पदक जितेर तर १३ औँ सागमा राष्ट्रिय टिमको तयारीको सिलसिलामा बोलाउँदा उनले भारतबाट प्रतिनिधित्व गर्दै खेल्ने भन्दै सहभागी हुन नसक्ने जनाएर राष्ट्रको प्रतिनिधित्व गर्न नसकेका हुन्’, चार टिमले भनेका छन्, ‘राष्ट्रको प्रतिनिधित्व गर्ने बेलामा उपस्थित हुन नसक्ने तर राष्ट्रिय प्रतियोगितामा उहाँको सहभागी रहेको छ।’चार टिमले बुढाको सहभागीताले न्युनतम सुविधाको बावजुत आफ्नो क्षमता प्रर्दशन गर्ने खेलाडी हतोत्साहित हुने भएकाले सहभागिता खारेजीको माग गरेका हुन्।
अजितलाई हुन सक्छ फाइदा
प्रोटेस्ट दर्ता भएपछि प्राविधिक उपसमितिले छानविन गरेर निर्णय दिने छ। यदि उनको सहभागिता रद्द भएमा प्रतियोगितामा रजत जितेका एपिएफ अजित यादवले स्वर्ण प्राप्त गर्ने छन्।
आर्मीका सुवास कार्कीले रजत जितन् सक्ने संभावना रहने छ। अजितले ९ मिनेट २१.१० सेकेन्डको समय निकालेका थिए। सुवासले ९ मिनेट २२.१५ सेकेन्डको समय निकाल्दै तेस्रो बनेका थिए।