काठमाडौँ । त्रिभुवन आर्मी क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो जित हात पारेको छ। मधेस प्रदेशविरुद्ध सोमबार भएको पहिलो खेलमा आर्मीले ६ विकेटको जित हासिल गर्यो। आर्मीका अघिल्ला दुई खेल वर्षाका कारण रद्द भएका थिए।
टस हारेर पहिलो ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०४ रन बनाएको थियो। जवाफमा आर्मीले उक्त लक्ष्य १९.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ३४ रन बनाउँदा रोहित पौडेलले २५ रन तथा अर्जुन साउँदले १७ रन जोडेका थिए। त्यस्तै राजेश पुलामी १६ रनमा नटआउट रहे।
त्यसअघि पहिले ब्याटिङ गरेको मधेसका लागि ओपनर सन्तोष कार्कीले २१ रन बनाउँदा कप्तान हसिम अन्सारीले २० रन बनाएका थिए।
त्यस्तै, विशाल सुस्लिङले १० रन जोडेका थिए। उसका लागि रोहन विके १७ रनमा अविजित रहँदा नसरुद्दिन अन्सारी १२ रनमा आउट भएका थिए। आर्मीका लागि सोमपाल कामी र सुसान भारीले २–२ विकेट लिएका थिए।














