भक्तपुरमा नक्कली नागरिकता बनाई ट्रायल दिने ५ जना पक्राउ

212

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले नक्कली नागरिकता बनाई ट्रायल दिएको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।

बिहिबार मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ राधेराधेस्थित ईजी वे ट्रायल सेन्टरमा नक्कली नागरिकता र नक्कली प्रवेश पत्र बनाई अन्य ब्यक्तिहरुको ट्रायल दिने कार्यमा संलग्न भएको आरोपमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुली जिल्ला दुधौली नगरपालिका वडा नं.११ टाँडी भई हाल चाबहिल काठमाण्डौं बस्दै आएका २० बर्षका मनिष श्रेष्ठ, सोही नगरपालिका वडा नं.४ घर भई हाल तिनकुने बस्ने २० बर्षका मनिष लामिछाने, कालिकोट जिल्ला महाबई गाउँपालिका वडा नं.१ घर भई हाल कटुञ्जे बस्ने २४ बर्षका ईन्द्र बहादुर शाही रहेका छन् ।

त्यसैगरी सिन्धुली जिल्ला दुधौली नगरपालिका वडा नं.१४ बस्ने २१ बर्षको टुल्कु सिं तामाङ, गोरखा जिल्ला भिमसेनस्थान गाउँपालिका वडा न.१ बस्ने २२ बर्षको राज कुमार श्रीमल रहेका छन् ।

प्रहरीले उनीहरुको नक्कली नागरिकताहरु, पासपोर्ट, प्रबेश पत्रहरु, बिभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाईलसहित नियन्त्रणमा लिएको हो ।

आरोपीलाई लिखत सम्बन्धि कसुर मा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी एवंम डिएसपी राजु पाण्डेले जानकारी दिएका छन् ।