Sunday, September 27, 2026
Home समाज भ्यागुते रोगको उपचार सुरु

भ्यागुते रोगको उपचार सुरु

287

मनाङ । हिमाली जिल्ला मनाङका चौँरीमा भ्यागुते रोग लागेको पुष्टि भएकाले उपचार थालिएको छ । मनाङ ङिस्याङ गाउँपालिका–३ र ५ नं वडाका चौरीखर्कमा रहेका चौँरीमा देखिएको यो रोगको उपचार गरिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

पशुचौपाय बिरामी परेको थाहा पाउनासाथ चौँरीखर्कमा पुगेर प्राविधिक टोलीले स्थलगतरूपमै उपचार गर्नाका साथै थप नमूना संकलन गरी परीक्षणका लागि पठाइएकामा भ्यागुते रोग लागेको पुष्टि भएकाले उपचार गरिएको केन्द्रका प्रमुख नारायण कुसुमले जानकारी दिए ।

‘ङावल क्षेत्रको खर्कमा रहेका चौँरीमा देखिएको लक्षणका आधारमा किसान र प्राविधिकले भ्यागुते रोगको आशंका गरेकामा पुष्टि भएकाले उपचार पछि अहिले चौँरी मर्ने र बिरामी हुने क्रम नियन्त्रणमा आएको छ’, उनले भने।

समुद्र सतहदेखि चार हजार पाँच मिटरको उचाइमा रहेको हिमताल क्षेत्रस्थित चरन खर्कमा चौँरी बिरामी परेका थिए, ‘अहिले रोग नियन्त्रणमा आएको छ । पशुचौपायमा लागेको रोग पूर्णरूपमा निको भएपछि जिल्लामा खोप अभियान चलाउने तयारीमा छौँ’, केन्द्रका प्रमुख कुसुमले भने, ‘जिल्लाका अन्य क्षेत्रका खर्कमा रहेका चौँरीमा भने यो रोग देखिएको छैन । रोग नियन्त्रणमा आएपछि चौँरीका लागि खोप अभियान सञ्चालन गरिनेछ ।’

उक्त रोगबाट ३० पशुचौपाय मरेका थिए । संकलित नमूना रोग निदानका लागि प्रादेशिक पशुरोग प्रयोगशाला पोखरा पठाइएको थियो । ती बिरामी पशुमा एक्कासि एक सय छ डिग्रीसम्म ज्वरो आउने, अत्यधिक र्‍याल काढ्ने, श्वास फेर्न गाह्रो हुने, खान मन नगर्ने, घाँटी सुन्निने, श्वास फेर्न गाह्रो भएकाले मुख खोलेर आवाज निकाली कराउने र लक्षण देखिएको दुई घण्टादेखि दुई दिनभित्र मर्ने गरेका थिए ।