कमेडियन क्षितिजलाई थुनामा राख्न म्याद थप्ने तयारी

46

काठमाडौं । नेवार समुदायको आस्था र रहनसहनमाथि आघात पुर्‍याएको आरोपमा पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंहलाई थुनामा राख्ने म्याद थपका लागि प्रहरीले प्रक्रिया अघि बढाएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेश मैनालीले सिंहले अभद्र व्यवहारको कसूरमा थुनामा रहेका उनीमाथि अनुसन्धान नसकिएका कारण म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराउन लागेको बताए ।

यसअघि प्रशासनले उनलाई १० दिन थुनामा राख्न अनुमति दिएको थियो । त्यो १० दिनको म्याद सकिएकाले म्याद थप्न लागेको उनले बताए । कमेडी क्याफे नामक युट्युब च्यानलबाट अपलोड गरिएको ‘नेवारको परम्परा’ शीर्षकको सामग्रीमा अभियन्ताहरुले आपत्ति जनाएका थिए । नेवार समुदायको आक्रोश बढ्न थालेपछि क्षितिजले युट्युबबाट भिडियो हटाएका थिए । फेसबुकमार्फत माफी पनि मागेका थिए ।

तर सम्पदा संरक्षण महाअभियानको नेतृत्वमा १०४ जनाको हस्ताक्षरसहित जिल्ला प्रहरी परिसर, टेकुमा किटानी जाहेरी दर्ता भयो । सोधपुछका लागि बोलाइएका अपूर्व भदौ १२ गते अभद्र व्यवहारको कसूरमा पक्राउ परेका थिए ।

सबै सामग्री हटाएर माफी माग्दा पनि थुनामा राखेको भन्दै उजुरीकर्ताहरुको आलोचना भइरहेको छ । क्षितिजको पक्षमा सामाजिक सञ्जालमा ट्वीट र स्ट्याटस लेख्ने अभियान नै चलेको छ । यसपछि उजुरीकर्ता र परिवारबीच उनलाई रिहा गराउने बारेमा छलफल सुरु भएको थियो । त्यो प्रक्रिया पनि अघि बढेको र आफूहरुले पनि आफ्नो प्रक्रिया अघि बढाउँदै म्याद थप्न लागेको मैनालीले बताए ।