बच्चा चोर्न खोजेको आशंकामा ३ पक्राउ

145

वीरगञ्ज । स्थानीयबासिन्दाले बच्चा चोर्न खोजेको भन्दै होहल्ला गरेपछि प्रहरीले तीन जना भारतीय महिलालाई पक्राउ गरेको छ । वीरगञ्जको छपकैयाबाट बिहारको नरकटियागञ्ज घर भई रक्सौलको ईस्लामपुर बस्ने ५० वर्षीया शैली खातुन, ४५ वर्षीया छतोती खातुन र ५३ वर्षीया मैरुन नेसालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक नविन गिरीले उनीहरुको सुरक्षाका लागि र थप अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिए । ‘बच्चा चोर्दै गरेको अवस्थामा पक्राउ परेका हैनन्, टोलमा नयाँ मानिस देखेपछि स्थानीयले बच्चा चोर्न आएको हुन सक्ने आशंकामा होहल्ला गरेका थिए,’ उनले भने, ‘उनीहरुको सुरक्षा र थप अनुसन्धानका लागि पक्राउ गरेका छौं ।’

पत्थर, जन्तर र औंठी बेच्दै हिँडेका उनीहरुले बच्चा चोर्न खोजेको भन्ने जानकारी छपकैयाका बासिन्दाले दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई कारबाही गर्नुपर्ने माग राखेर स्थानीयले प्रहरी चौकी छपकैया घेराउ समेत गरेका थिए । पक्राउ परेका तीनै जना महिलालाई थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय विर्तामा राखिएको छ ।