काठमाडौं । नेपालको एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पछिल्ला दुई वर्षदेखि कोरोना संक्रमितको उपचार तथा परीक्षणमा तल्लीन यो अस्पतालमा अहिले कोरोनासँगै डेंगुका बिरामी पनि बढ्दो छन् । बाहिर डेंगुको परीक्षण गर्नेको लाइन छ भने आकस्मिक कक्षका बेड बिरामीले भरिभाउ । आकस्मिक कक्षमा बेड खाली नभए पनि बिरामी आउने क्रम निरन्तर छ । अस्पताल प्रशासनको तथ्यांकले डेंगु नियन्त्रणबाहिर गएको संकेत गरेको छ । साउन महिनाभर डेंगुका १९० जना बिरामीको भर्ना भएको यो अस्पतालमा पछिल्लो एक हप्तामा नै १७६ जना डेंगुका बिरामी भर्ना भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार अहिले देशका ६० भन्दा बढी जिल्लामा डेंगु फैलिसकेको छ । डेंगुबाट उपत्यका र तराइका जिल्ला मात्र होइन, पहाडी र हिमाली जिल्ला पनि प्रभावित छन् । डेंगु नियन्त्रणका लागि स्थानीय तहका स्वास्थ्य संयोजक तथा जिल्ला तथा प्रदेशका उच्च अधिकारीको समन्वयमा लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन सुरू भएको महाशाखाले जनाएको छ ।
नेपालमा सन् २००४ मा एक जना विदेशी नागरिकमा डेंगु संक्रमण देखिएको थियो । सन् २०१० र २०१७ मा पनि धेरै संख्यामा डेंगुका बिरामी भेटिएका थिए । सन् २०१९ मा धरानबाट सुरु भएको डेंगुले महामारी नै ल्याएको थियो । त्यस वर्ष १८ हजारभन्दा बढी डेंगुबाट संक्रमित भए भने ६ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनका अनुसार डेंगुको संक्रमण काठमाडौं उपत्यकामा दशैं–तिहारको समयपछि देखिने गरेको थियो । तर पछिल्ला केही वर्षमा फरक स्थिति छ । ‘सन २०१९ पछि फरक अवस्था देखिएको छ । अहिले नै डेंगुले धेरै जनालाई आक्रान्त बनाएको छ । चाँडै नियन्त्रणमा नआउने हो भने प्रकोपको रूप लिन्छ’, डा. पुन थप्छन् ।
लक्षण के हुन् ?
धेरैमा डेंगु कडा हुँदैन तर, कसैकसैमा डेंगु जटिल अवस्थामा जान सक्छ । निरन्तर वान्ता हुनु, पेट धेरै दुख्नु, रक्तश्राव हुनु, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने, रगत जाँचमा प्लेटेलेट्स संख्या तीव्र गतिमा घट्नुले डेंगुको जटिल अवस्थामा जान सक्ने संकेतको रुपमा लिने गरिन्छ । यस्तो अवस्थामा अनिवार्य चिकित्सकको निगरानीमा उपचार वा परामर्श लिर्नुपर्ने हुन्छ ।
डेंगुबाट बच्न यी उपाय अपनाउनुहोस् :
– लामखुट्टेको टोकाइबाट बच्ने ।
– घरवरपर पानी जम्ने खाल्डाखुल्डी पुर्ने ।
– घरनजिक कुनै पनि किसिमका झाडी नराख्ने ।
– लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने वा लामखुट्टेको धूप वा क्रिम प्रयोग लगाउने
– घर वरपर रहेका पानी जम्ने खाल्डाखुल्डीलाई पुरिदिने
– झ्याल–ढोकामा जाली राख्ने
– शरीर पूरै ढाक्ने कपडा लगाउने
– काम नलाग्ने भाँडाकुँडा , सिसी, बोतल, प्लास्टिकका सामग्री, टायर आदिनको पानी जम्न निमल्ने गरी बिसर्जन गर्ने