काठमाडौं । नेविसंघको तालाबन्दीको कारण अन्यौलमा परेको नेपाल संस्कृत विश्वविद्यालयको आचार्य प्रथम खण्डको परीक्षा भोलि सोमबारदेखि हुने भएको छ ।
आचार्य प्रथम खण्ड (नियमित/आंशिक/स्वतन्त्र) २०७७ र मौका परीक्षा २०७८ को वार्षिक परीक्षा साउन १६ गतेदेखि तोकिएको थियो । तर नेविसंघले १४ बुँदे माग राख्दै दाङको बेलझुन्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको मूल गेट, सेवा आयोग, उपकुलपतिको कार्यलय, रेक्टर, रजिष्ट्रार, आर्थिक प्रशासन महाशाखामा १९ वैशाखमा लगाएको ताला नखोलेका कारण परीक्षा हुने नहुने अन्यौलमा थियो ।
तीन महिनाभित्र दीक्षान्त समारोह गर्नुपर्ने, छात्राबाससँगै लाइब्रेरीलाई व्यवस्थित गर्दै इ–लाइब्रेरीका रुपमा सञ्चालन गर्नुपर्ने, विद्यार्थी मैत्री पाठ्यक्रमको व्यवस्था गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति तोक्नुपर्ने लगायतका ११ बुँदे मागमा विश्वविद्यालय सहमत छ । तर विद्यार्थीले पाउने छात्रवृत्ति दुई सय प्रतिशत बढाउने, नेविसंघले लगाएको आरोप पदाधिकारीहरुले गरेका आर्थिक हिनामिनाबारे छानबिन गर्नुपर्ने र आंशिक प्राध्यापकलाई करारमा नियुक्त गर्नुपर्ने मागमा सहमति हुन नसकेको विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवप्रकाश लामिछाने बताउँछन् ।
नेविसंघ संघर्ष समितिका संयोजक चोलेन्द्र रिजाल भने मागअनुसार सहमति नभएसम्म ताला नखोल्ने बताउँछन् । ताला नखुलेपछि परीक्षा स्थागित गर्नेबारे समेत छलफल भएको थियो । तर पाँच वटै परीक्षा केन्द्रमा प्रश्नपत्र पठाइसकेका कारण परीक्षा नरोक्ने निर्णय भएको संस्कृत विश्वविद्यालयका परीक्षा नियन्त्रक डा.बाबुराम आचार्यले बताए ।













![निजामती कर्मचारी अस्पतालमा कर्मचारी माग [सूचनासहित]](https://nayanepalnews.com/wp-content/uploads/2023/03/civil-Hospital-100x70.webp)
