एक वर्षमा २०६ जना नेपालीले ज्यान गुमाए

41

काठमाडौँ । वैदेशिक रोजगारीमा साउदी अरब गएकाहरुमध्ये २०६ जनाको गत आर्थिक वर्ष २०७८/७९ मा मृत्यु भएको छ। साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो।

मृत्यु भएकामध्ये १८० जनाको शव नेपाल पठाइएको र १८ जनाको साउदी अरबमै अन्तिम संस्कार गरिएको जानकारी दूतावासले दिएको छ। ८ जनाको शव नेपाल पठाउन बाँकी रहेको दूतावासले जनाएको छ। दूतावासका अनुसार मृत्यु भएकाहरुमध्ये ११२ जनाको प्राकृतिक कारण (हृदयघातसमेत) र ३४ जनाको आत्महत्या कारण ज्यान गुमाएका हुन्। यस्तै, ३१ जनाको सडक दुर्घटनामा, १४ जनाको कार्य क्षेत्रमा दुर्घटनाका कारण र १४ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो। एक जना नेपालीको भने हत्या भएको थियो।