हाइस्पिड रेल चढेर हङकङ पुगे चिनियाँ राष्ट्रपति सी

104

हङकङ । चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने भ्रमणका लागि हङकङ पुगेका छन्। साउथ चाइना मर्निङ पोष्टका अनुसार सी सेन्जेनबाट हाइस्पिड रेलमा चढेर बिहीबार दिउँसो हङकङ पुगेका हुन्। हङकङमा चिनियाँ शासन पुनर्वहाली भएको २५ औं वार्षिकोत्सव समारोहमा सहभागी हुन सी हङकङ आएका हुन्। बेलायती उपनिवेशमा रहेको हङकङलाई सन् १९९७ जुलाई १ मा एक देश, दुई नीतिअनुसार चल्ने गरी चीनलाई सुम्पिएको थियो। सी पाँच वर्षअघि पनि हङकङको जुलाई १ को कार्यक्रममा सहभागी भएका थिए।

कोरोनाभाइरसको महामारी सुरू भएपछि सी पहिलो पटक मेनल्यान्ड चाइनाभन्दा बाहिर गएका हुन्। चीनले ‘जिरो कोभिड’ नीति लिएको छ। राष्ट्रपति सीले सन् २०२०को सुरूदेखि अहिलेसम्म विदेश भ्रमण गरेका छैनन्। हङकङ पुगेपछि एक कार्यक्रमलाई सम्बोधन गर्दै सीले हङकङ धुलोबाट उठेर आजको स्थानमा आइपुगेको बताए। उनले यो बीचमा हङकङले एक देश दुई नीति राम्रो प्रणाली हो भन्ने पनि प्रमाणित गरेको बताए। सी आएपछि हङकङमा सुरक्षा व्यवस्था कडा पारिएको छ। बेइजिङले आफूहरूमाथि एकपछि अर्को कदमबाट नियन्त्रण बढाउन खोजेको र स्वतन्त्रता कुण्ठित गर्न खोजेको भन्दै हङकङमा बेलाबेलामा प्रदर्शनहरू भइरहन्छन्।