नागरिकले भारतबाट ल्याएको मल खोसेर बहादुरी नदेखाउन आग्रह…गगन थापा

58

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले मल ल्याउन सरकार असफल भइसकेकाले अब भारतबाट ल्याएको मल खोसेर बहादुरी नदेखाउन आग्रह गरेका छन्। नेपालमा मल नपाएपछि सीमा क्षेत्रका नागरिकले भारतबाट मल ल्याउने गरेका छन्। तर त्यहि मल पनि प्रहरीले सीमामा राजश्व छलेर ल्याएको भन्दै नियन्त्रणमा लिने गरेको छ।

बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘बजेटले कृषिलाई उच्च प्राथमिकता राखेको छ। जुन प्रशंसनीय छ। खाद्य सुरक्षाको दृष्टिले पनि महत्वपूर्ण छ। एकछिन कल्पना गरौँ। खुला सिमाबाट पेट्रोलियम पदार्थ जस्तै खाद्य सामाग्री आउन छाड्यो भने हामी तत्काल अफ्ट्यारोमा पर्छौँ। त्यसकारणले लागतको प्रतिफल कति आउँछ भन्ने होइन। हाम्रो लागि बाध्यता पनि हो।’आयात निर्यातको अहिलेको अवस्था हेर्दा हामीले निर्यात बढाउनै पर्ने उनले बताए। ६० प्रतिशत नागरिक कृषिमै निर्भर भएकाले कृषि मन्त्रालयले ल्याएको कार्यक्रम राम्रो भएको दाबी गरे।

‘उत्पादन बढाउने कुरा गछौँ। तर त्यसको आधारभूत आवश्यकता मल। चीनमा करिब ३८४ केजी प्रतिहेक्टर र भारतमा १७५ केजी प्रतिहेक्टर प्रयोग हुँदै गर्दा नेपाल ८७ केजी प्रतिहेक्टर प्रयोग हुन्छ। प्राविधिक हिसाबले १२ लाख ९७ हजार मेट्रिकटन हो, तर अहिले अत्यावश्यक हिसाबले चाहिने ५ लाख ३० हजार मेट्रिकट्रन चाहिन्छ।’ उनले भने, ‘जेठ र असारमा २ देखि ३ मेट्रिकटन आवश्यक पर्छ। आज मात्रै कृषि मन्त्रालयले निकालेको असार मसान्तसम्ममा १ लाख ९२ हजार मेट्रिकटन मल आउँछ भनेर तर आउँदैन। आउन सक्दै सक्दैन।’अहिले मौज्दात ७ हजार मेट्रिकटन मात्रै मल भएको बताए। ‘अहिले २० हजार बाटोमा छ। ६०-७० हजार आउँछ भनिएको छ। दिनको दुई हजार मेट्रिकटन भन्दा आउनै सक्दैन। यो फेरि अहिले मात्रै भएको होइन। गएको साल पनि मनसुन राम्रो भयो तर मलको कारणले ठुलो ह्रास भयो’ उनको भनाइ छ।