राप्रपा भक्तपुरका कोषाध्यक्षको यस्तो धन्दा, परे प्रहरीको फन्दामा

1256

भक्तपुर । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भक्तपुरमा सरकारी जग्गा बैना गरि ठगी गर्ने दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण नपा वडा नं. ७ बस्ने ७२ वर्षका केशव प्रसाद अधिकारी र साविक भक्तपुर नपा वडा नं.२ घर भइ हाल भक्तपुर न.पा वडा नं.८ बस्ने ईश्वरी गाइँजू रहेका छन् । अधिकारी राप्रपा भक्तपुर जिल्ला कार्यसमितीका कोषाध्यक्ष भएको पुष्टि भएको छ । उनी २०७४ सालको स्थानीय निर्वाचनमा सो पार्टीको तर्फबाट वडाध्यक्षको उम्मेदवार समेत भएका थिए ।

उनीहरूले भक्तपुर साविक सुडाल गा।वि।स वडा नं। ४ क मा रहेको बिभिन्न कित्ता नम्बरहरु अर्कैको नाममा रहेको जग्गा सम्बन्धित जग्गा धनीसंग अनुमती नलिई अनुमती लिएको छौ भनी झुक्याएको खुल्न आएको प्रहरीले जनाएको छ । खोटाङ बुईपा ३ घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी न। पा १४ बस्ने धनिराम राई समेतको जाहेरी परेको थियो ।

उनीहरूले कि.नं. ३९९ क्षेत्रफल 0-४-०-० सरकारी जग्गा रहेको देखिन आएकोले सो जग्गा समेत बिक्री गर्न करारनामा गरी बैना बापत रु.पाँच करोड बिस लाख लिई ठगी गरेको जाहेरी परेको थियो ।
उनीहरूलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले भक्तपुर मालपोत गेटबाट पक्राउ गरेको हो । सो सम्बन्धमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाईएको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।