Friday, October 16, 2026
Home साहित्य कविता: पवनपुत्र हनुमान

कविता: पवनपुत्र हनुमान

319

-विदुर प्रसाद तिमिल्सिना
उसको मीठो बोलीले
मख्ख पार्दा मख्ख हुने
चतुर चाणक्य नै सम्झने
शुध्द गणितमा अब्बल
आफ्नै इन्द्रियले काम नगर्ने
बोलीका प्रणेता तिनैले
नस्वीकार्ने लोकको अस्तित्व ।।

मिथ्याको पुलिन्दा बोकेर
सफलताको सपना बेच्दा
आफूलाई तिमी चलाख मान्छौ
तर तिम्रो गणितमा उसले
तातो खरानी खन्याएर
निकै टाढा पुग्दा समेत
तिमी छौ किन उसकै दिवाना ?

निर्लज्ज नेतृत्वले धावा बोल्छ
वाचाल बोलीले झुट खोल्छ
विद्वत्ताविहीन दरिएको विद्वान्
मञ्चमा बसी ताली ठोक्छ
यसैलाई भनिन्छ प्रगति भने
उसले तिमीलाई लास ठान्छ ।

बाघले मृग निल्दासमेत
तिम्रो मस्तिष्कले देख्दैन केही
उफ्रन्नन् बुध्दिका किल्ला भने
यसका विरुध्द हुन्छु म
सुकेका खरको आगोको
भीमकाय लामो लप्को
बोक्छु विद्रोहको मसाल
भन्ला उसले सन्की नै
तर हुन सक्दिँन कहिल्यै
पवनपुत्र हनुमानझैँ
पवनपुत्र हनुमानझैँ ।।