हत्यारा रन्जन कोइराला पक्राउ: यसरी घटाएका थिए घटना

133

काठमाडौं । पत्नी गीता ढकालको हत्यामा संलग्न रन्जन कोइराला पक्राउ परेका छन् । शुक्रवार उनी काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ परेका हुन् । बिहिबार सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दिपक कुमार कार्की, न्यायाधीश टंकबहादुर मोक्तान र कुमार चुडाल सम्मिलित संयुक्त इजलासले उनलाई जन्मकैदको फैसला गरेको थियो ।

यसअघिका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले गरेको फैसला पुनरावलोकन भएसँगै उनी फेरि पक्राउ परेका हुन् । सशस्त्र प्रहरी बलका पूर्वडिआईजी कोइरालालाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

घटना यसरी भयो
२०६८ साल माघको पहिलो साता नेपालमा ठूलै हल्ली खल्ली भयो । किनभने शसस्त्र प्रहरी बलका डिआइजी रन्जन कोइरालामाथि आफ्नै श्रीमती गीता ढकालको हत्या गरेको आरोप लाग्यो। चीनमा तालिम चल्दै गर्दा कोइराला बिदामा नेपाल आएका थिए। पारिवारिक खटपटका कारण उनकी श्रीमती गीता अलग्गै बस्थिन् । चीन जानुअघि नै उनले श्रीमतीलाई बारम्बार कुटपिट गरेका थिए, अंश मुद्दा हालेका थिए । श्रीमतीले जवाफमा मानाचामलको मुद्दा हालेकी थिइन् । त्यति मात्रै होइन, आफ्नो जीउज्यानको सुरक्षाका लागि उनले सशस्त्र प्रहरी मुख्यालयमा समेत निवेदन दिएकी थिइन् ।

माघ ९ गते मकवानपुरको टिस्टुङस्थित मत्राङमा आधाभन्दा बढी जलेको अवस्थामा गीताको शव भेटियो । कोइरालाले श्रीमती बसेको घरमा उनको हत्या गरी शवलाई सरकारी गाडीमा राखेर नष्ट बनाउन खोजेका थिए । जलाउन खोजेको ठाउँमा आगो लागेको, डिजेल बगेको, हड्डीका टुक्रा, घडी, चिरेको काठको बाकस फेला परेको थियो । एकपटक शव नष्ट गर्ने प्रयास गरे पनि पटकपटक उनी घटनास्थल पुगेर हेरेर फर्केको अनुसन्धान क्रममा भेटिएको थियो ।

नागढुंगा–नौबीसे सडक हुँदै काठमाडौं आउँदै गर्दा कोइराला गाडीसहित पक्राउ परे । उनको साथबाट सलाईको बट्टा, सेतो प्लास्टिकलगायतका सामान बरामद भएको थियो । घटनास्थलमा भेटिएको घडी मृतककी आमा हरिप्रिया ढकालले सिंगापुरबाट ल्याएर छोरीलाई उपहार दिएकी थिइन् ।

खोजबिन हुँदा कोइरालाले एक महिलालाई ‘रखेल’ राखेको भनी उजुरी पर्‍यो । उनले पनि कोइरालाले आफूलाई बिहे गर्ने आश्वासन दिएको बताइन् । कोइरालाको बयानअनुसार पुसमा उनी चीनबाट फर्केपछि छोरा लिन श्रीमती गीता बसेको घरमा गएका थिए । त्यसक्रममा उनीहरूबीच बोलचाल भएन । त्यसपछिको भेटमा गीताले व्यापार गर्न पाँच लाख रुपैयाँ मागिन् । आफूले दिन्न भनेकामा श्रीमतीले कठालो समातेको भन्दै उनले बयानमा भनेका थिए, ‘तानातानका क्रममा हात हालाहाल भयो ।

अनि ठेल्ने क्रममा उनी बजारिँदा टाउको भित्तामा ठोकिन पुग्यो ।’ उनको दाबीअनुसार श्रीमती नचल्मलाएपछि होसमा ल्याउने प्रयास गरें, सम्भव नभएपछि कोठामा ताला ठोकेर हिँडें । त्यसपछि कोइराला श्रीमतीको शव व्यवस्थापनको चक्करमा लागे । उनले आफ्नो सहयोगीलाई पेट्रोल खरिद गर्न लगाए । गाडीमा आफैँले श्रीमतीको शव लुकाएर राखे ।

अनि चालकलाई बोलाएर धादिङतिर गाडी लैजान निर्देशन दिए । खानीखोला पुगेपछि आफू जाने ठाउँमा बस्ने ठाउँ नभएको भन्दै चालकलाई खानीखोलामै बस्न लगाए र आफू गाडी लिएर अगाडि बढे । शव व्यवस्थापन गरेर फर्कने क्रममा चालकलाई खानीखोलाबाट सोही गाडीमा हालेर काठमाडौं फर्किए ।

आधामात्रै शव जलाएका उनी हडबडाएर फर्केको देखिन्छ किनभने उनी फेरि दोस्रोपटक शव जलाएको ठाउँसम्म एक्लै गाडी लिएर पुगेको अनुसन्धानबाट खुल्छ । उनको अस्वाभाविक गतिविधि देखेपछि स्थानीयले केरकार गरे । गाडीको चाबी नियन्त्रणमा लिए । त्यतिबेला उनले आफ्नो साथमा रहेको सशस्त्र प्रहरीको परिचयपत्र देखाएर घटनास्थल बाट हिँडे । सबै घटनाको अनुसन्धानपछि प्रहरीले कोइरालासँगै उनको साथमा रहेकी महिला तारा रेग्मीमाथि पनि मुद्दा चलायो ।

२०७१ वैशाख ७ गते काठमाडौं जिल्ला अदालतले कोइरालालाई सर्वस्वसहित जन्मकैदको सजाय सुनायो भने रेग्मीलाई एक वर्ष कैद ठहर गर्‍यो । जिल्ला अदालतले हत्याबाट नै गीताको मृत्यु भएको ठहर गरेको थियो ।

त्यसलाई तत्कालीन पुनरावेदन अदालत पाटनले पनि सदर गर्‍यो । मुद्दा सर्वोच्चमा आइपुग्यो । मुलुकी ऐनअनुसार सजाय भएको अवस्थामा हाल मुलुकी अपराध संहिता लागू भएको छ । जसमा, सर्वस्वसहित जन्मकैदको साटो जन्मकैदको मात्रै व्यवस्था छ । सर्वोच्चले सर्वस्वको फैसला बदर गरिदियो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जनकुमार कोइरालाको कैद सजाय घटायो ।

श्रीमती हत्याको अभियोगमा अदालतले सुनाएको सर्वस्वसहित जन्मकैदको सजाय काटिरहेका कोइरालालाई अदालतका प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीको संयुक्त इजलासले ८ वर्ष ६ महिना जेल बस्दा पुग्ने फैसला गरेको हो । पत्नी हत्याको अभियोगमा दोषी ठहर भइ डिल्लीबजार कारागारमा रहेका पूर्वडीआईजी रन्जन कोइराला २०७७ साल साउन ८ गते जेलमुक्त भएका थिए । आजदेखि पूनः जेल गए ।