निर्वाचन आयोगले मधेस प्रदेशका ५० प्रतिशतभन्दा बढी मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा

107

बैशाख ९,

जनकपुर : निर्वाचन आयोगले मधेस प्रदेशका ५० प्रतिशतभन्दा बढी मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखेको छ। मधेसका आठवटै जिल्ला भारतीय सीमासँग जोडिएकाले सुरक्षा चुनौतीलाई विश्लेषण गरी आयोगले प्रदेशका एक हजार ६३ मतदान केन्द्रलाई अतिसंवेदनशीलको सूचीमा राखेको हो। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारले स्थानीय तह निर्वाचनमा मधेसका अति संवेदनशीलको सूचीमा राखिएका मतदान केन्द्रमा त्यहीअनुरूपको सुरक्षा व्यवस्था मिलाएको जानकारी दिए।

‘विगतको निर्वाचनमा भएको निर्वाचन बिथोल्ने घटना, झडप र राजनीतिक असमझदारीजस्ता विषयलाई विश्लेषण गरेका छौँ’, उनले भने, ‘जिल्लास्थित सुरक्षा समितिले गरेको सिफारिसअनुसार नै निर्वाचन आयोगले मतदान केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरेको छ।’यस्तै मधेसका ८२८ मतदानस्थललाई संवेदनशील र २१२ मतदानस्थललाई सामान्यको सूचीमा राखिएको छ। प्रदेशमा दुई हजार १६३ मतदानस्थलमा चार हजार १८९ मतदान केन्द्र निर्धारण गरिएको छ। निर्वाचन हुनु ७२ घण्टाअघिदेखि सीमानाका पूर्णरूपमा बन्द गरिनुका साथै सीमाक्षेत्रमा सुरक्षा निगरानी बढाउने योजना रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।