पार्टी विधान परिवर्तन गर्न कांग्रेस महामन्त्रीको प्रस्ताव

165

जेठ २०,
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टी विधान परिवर्तन गरेर अगाडि बढाउनुपर्ने बताएका छन् । समाजवाद अध्ययन केन्द्रको तर्फबाट साहित्यकार राधिका दाहाललाई आज ह्वीलचियर वितरण कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “प्रदेश र स्थानीय तह केन्द्रित विधान बनाएर संगठन निर्माणमा काँग्रेस लाग्नुपर्छ ।”

महामन्त्री डा.कोइरालाले संविधानअनुसार काँग्रेसको विधान परिवर्तन गर्न तत्काल महासमिति बैठक आह्वान गर्नुपर्छ भन्दै प्रतिनिधिसभा र प्रदेशसभामा पार्टी नराम्ररी पराजय भएकाबाट पाठ सिकेर सबै नेता तथा कार्यकर्ता संगठन निर्माणमा लाग्ने बेला आएको बताए । महामन्त्री डा.कोइरालाले काँग्रेस संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । सो अवसरमा केन्द्रका अध्यक्ष दुर्गाप्रसाद फुँयालले समाजवादको बारेमा अध्ययन तथा प्रशिक्षण, भक्तपुर क्यान्सर अस्पताल र भक्तपुर अस्पतालमा केन्द्रले ह्वीलचियर वितरण गरेको जानकारी दिए । यस्तै केन्द्रले नवलपरासीको बर्दघाटमा ह्वीलचियर, बर्दघाटको चिसापानी अस्पताललाई आकस्मिक ट्रली, पोखराका ११० नेत्रहीन व्यक्तिलाई रेडियो, पेनड्राइभ तथा छडी वितरण गरिएको पनि अध्यक्ष फुँयालले बताए ।