सांसदको माग : बलात्कारीलाई फाँसी र विद्यालयमा सुरक्षा विषय समावेश

81

चैत ११,

विराटनगर : प्रदेशसभा १ का महिला सांसदहरूले बलात्कारका घटना कम गर्न विद्यालयस्तरको पाठ्यक्रममा नै सुरक्षा विषय राख्नुपर्ने माग गरेका छन्। यस्तै‚ बलात्कारीलाई फाँसीको सजाय दिए यस्ता घटना कम हुने धारणा राखेका छन्। नेपाली कांग्रेसबाट प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएको ज्योति सुब्बाले बलात्कारका घटना कम गर्न विद्यालयका पाठ्यक्रममा सुरक्षाको विषय समावेश गर्नुपर्ने धारणा राखेकी छन्। बिहीवारको प्रदेश सभा बैठकको शून्य समयमा सुब्बाले पछिल्लो समय प्रदेश १ मा बलात्कारका घटना हुँदै आएकाले त्यस्ता घटनाबाट बच्न बालबालिका सुरक्षा शिक्षा पाठयक्रममा नै समावेश गरिनुपर्ने माग रोखकी हुन्। साथै‚ उनले बालबालिकाको आत्मरक्षा विषयमा अभिभावकलाई लक्षित गरी जनचेतनामूलक कार्यक्रम गराउनुपर्ने बताइन्।‘प्रदेश १ मा दिन प्रतिदिन बलात्कारका घटनाहरू बढ्दै गएको छ, यसको न्यूनीकरणका लागि बालबालिका सुरक्षा विषय पाठ्यक्रममा नै समावेश गरिनुपर्छ‚’ सांसद सुब्बाले भनिन्, ‘अभिभावकलाई लक्षित गरी जनचेतनामूलक कार्यक्रमको आयोजना गरेर यस्तो विषयमा सचेत गराउनुपर्ने आवश्यकता छ।’यस्तै‚ कांग्रेस सांसद बिन्दिया कार्कीले बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग गरेकी छन्। फाँसीको व्यवस्था भए पुनः अपराध गर्न हिम्मत नगर्ने उनले बताइन्। उनले भनिन्, ‘बलात्कारीलाई फाँसीको सजाय भएको भए फेरि गर्न डराउने थिए।’

सांसद कार्कीले मोरङको लेटाङमा यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाही गर्न माग गर्दै भएको प्रदर्शनमा खटिएकी महिला प्रहरीले नै ज्यान गुमाउनु परेको बताउँदै यसमा कसको कमजोरी रह्यो भनी प्रश्नसमेत गरिन्।‘एउटा शिक्षकको कारण भएको आन्दोलनलाई रोक्न जाँदा एउटी महिलाको सुरक्षा गर्न गर्न जाँदा महिला प्रहरीले नै ज्यान गुमाउनुपर्ने?’ सांसद कार्कीले भनिन्‚ ‘हामीले सुरक्षामा पनि केही कमिकमजोरी गरेका छौँ कि?’१८ महिने नाबालिकादेखि वृद्धासम्म बलात्कारको सिकार भइरहेको र पीडितहरू समाजमा खुलेर हिँड्डुल गर्ने अवस्था नभएकाले उनीहरूको सुरक्षाका लागि छुट्टै बजेट छुटयाउन पनि माग गरिन्।