कोभिड–१९ ले थलिएको मुलुकको अर्थतन्त्र मजबुद बनाउने योजना…अर्थमन्त्री जनार्दन …

134

चैत ४,
ललितपुर : अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताएका छन्। ललितपुर उद्योग वाणिज्य संघको ५५औं स्थापना दिवसका अवसरमा शुक्रवार उनले मुलुकको अर्थतन्त्र मजबुद बनाउने प्रयास भइरहेको उल्लेख गरेका हुन्।बैंकको व्याजदरबाट समस्यामा परेका व्यवसायीको हितका लागि थुप्रै किसिमको छलफल सुरु गरिरहेको मन्त्री शर्माले बताए। उनले भने, ‘सांस्कृतिक शहर ललितपुरमा निर्माण भएका मूर्तिलगायतका साथै वास्तुकलाकोसमेत प्रवर्द्धन गर्ने योजना छ।’उनले कार्यक्रममा उपस्थित व्यवसायीसँग सल्लाह तथा सुझावसमेत मागे। युक्रेन र रुसबीचको युद्धका कारण मुलुकमा ठूलो असर परिरहेको मन्त्री शर्माले उल्लेख गरे।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ३५ वर्षअघि यस क्षेत्रमा लागि पर्दा हालको जस्तो अर्थतन्त्रको एकदमै नाजुक अवस्था यसअघि कहिल्यै पनि नदेखेको गुनासो गरे।‘अहिले मुलुकमा तरलताको समस्या गम्भीररुपमा बढ्दै गइरहेको छ‚’ गोल्छाले भने‚ ‘समस्या समाधान नगर्ने हो भने अर्थतन्त्रमा अझै ठूलो चुनौती थपिएर व्यवसायी मात्रैलाई होइन समस्त नेपालीकै जीवनमा प्रभाव पार्ने देखिन्छ, ध्यान दिन जरुरी छ।’अर्थतन्त्रको जटिल अवस्था ध्यानमा राखी सरकारले नेपालमा पर्यटकलाई खुलेर स्वागत गर्नुपर्ने बेला भएको उनको भनाइ थियो।