‘पहिला कम्युनिष्ट मिलेर हराए, अब जितेर आउन गठबन्धन गर्छौं’

44

फागुन २६,

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी भएका दलसँग समन्वय गरी स्थानीय तहको निर्वाचनमा सहभागी हुने बताएका छन्। नेपाली कांग्रेस पर्साले वीरगञ्जमा आयोजना गरेको जिल्ला कार्यसमितिमा निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै देउवाले गठबन्धनसँग मिलेर निर्वाचनमा सहभागी भए स्थानीय, प्रदेश र संघमा विजय हासिल गर्ने सम्भावना प्रबल बताएका हुन्। उनले भने, ‘गठबन्धनमा चुनाव लड्ने विषयमा दलहरूसँग छलफल चलिरहेको छ। ०७४ को चुनावमा कांग्रेस कमजोर भएर नभई सबै कम्युनिष्टहरू एक भएकाले कांग्रेसको हार भएको हो। त्यसैले गठबन्धनसहित निर्वाचनमा जाने विषयमा छलफल गरिरहेका छौँ।’

हालै संसदबाट पारित भएको एमसिसी सम्झौताले नेपालको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरे। एमसिसीबाट प्राप्त हुने रकम ऋण सहयोग नभई अनुदान भएकाले उक्त रकमलाई सदुपयोग गर्न सकिए राष्ट्र विकास चाँडै गर्न सकिने उनको भनाइ छ। एमसिसीबाट प्राप्त रकमलाई सदुपयोग गरे अमेरिका मात्र नभई विश्वका अन्य समृद्ध राष्ट्रले नेपालमा लगानी गर्ने र मुलुकमा व्याप्त रहेको बेरोजगारी तथा पछौटेपन समाप्त हुने विश्वास व्यक्त गरे।चीन र भारतजस्ता विशाल राष्ट्रको बीचमा रहेको नेपालले मुलुकको विकासका लागि दुवै देशको सहयोग लिने र दुवै राष्ट्रसँग सन्तुलित मित्रवत् सम्बन्ध राख्न आवश्यक रहेको बताए।