कप्तान सन्दीपका चुनौती, यस्तो छ खेल तालिका

97

माघ २६,

एकपछि अर्को उपलब्धि हासिल गर्दै अघि बढेका नेपाली खेलाडी सन्दीप लामिछाने युवावस्थामा नै नेपाली राष्ट्रिय टीमको कप्तानको जिम्मेवारी पाउन सफल भए। छोटो समयमै धेरै अन्तरराष्ट्रिय फ्रेन्चाइजको अनुभव सँगालेका उनले राष्ट्रिय टोलीबाट पनि आफूलाई एक सफल खेलाडीको रुपमा उभ्याए तर अब उनीमाथि आएको कप्तानको जिम्मेवारी कसरी सफल बनाउँछन् त्यो भने प्रतीक्षाको विषय रहेको छ।

नेपाली क्रिकेटमा सर्वाधिक कान्छो कप्तान बनेका सन्दीपले कप्तानी जिम्मेवारी जसरी पाए त्यो भने नेपाली क्रिकेटको एउटा नबिर्सिने पाटोका रुपमा रहने छ। अर्थात तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसहित ४ खेलाडीलाई क्यानले कारबाही गर्दै सन्दीपलाई नयाँ कप्तानको जिम्मेवारी दिएको थियो।अब कप्तानका टोपी पहिरिएका सन्दीपलाई कप्तानी चुनौती पूरा गर्ने दायित्वमात्र छैन, नेपाली क्रिकेटसामु आएको एउटा अर्को अवसरमा नेपाली टोलीलाई खरो उतार्नुपर्ने चुनौतीसमेत छ।

नेपालले अब ओमानमा हुने चारदेशीय टी-२० क्रिकेट सिरिज र त्यसपछि हुने विश्वकपको ग्लोबल छनोटका लागि प्रतिस्पर्धा गर्ने छ। यसका लागि नेपाली टोली मंगलबार बेलुकी ८ बजे त्यसतर्फ प्रस्थान गर्दै छ। प्रतियोगितामा खेल्न जानुअघि सन्दीप आत्मविश्वासी देखिएका छन्।उनले विश्वकप खेल्ने सपना आफ्नो मात्र नभएर सम्पूर्ण नेपालीहरूको भएको र प्रतियोगितामा कुनै एक खेलाडी या व्यक्तिमाथि नेपाली टोलीको खेल निर्भर नभएको घुमाउरो जवाफ दिँदै सिंगो टिमको प्रदर्शनमा विश्वास गर्नुपर्ने बताए।