छाडा छोडिएका कुकुरको बन्ध्याकरण गरिदैं

152

मंसिर १३,
भक्तपुर । मध्यपुरथिमिका रहेका केही खुल्ला (भुसीया) कुकुरको बन्ध्याकरण गरिने भएको छ ।
उचित मात्रामा मात्रै निरोगी र तन्दुरुष्ट सामुदायिक (खुल्ला छाडा) कुकुरको संख्या बनाउने उद्देश्यले मध्यपुर एनिमल वेयरफेयर सोसाईटी जानकारी दिएको हो । सामुदायिक कुकुरको निःशुल्क बन्ध्याकरण अभियान सञ्चालन गर्ने संस्थाले जानकारी दिएको छ ।

वल्र्ड भेगन एसोसिएशनको वित्तिय सहयोगमा सोसाईटीले यहि मंसिर १७ गतेदेखि १९ गतेसम्म मध्यपुर थिमि गठ्ठाघरस्थित सो कार्य गर्दै छ । मध्यपुर युथ एशोसिएशनको भवनमा उक्त बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्न लागिएको सोसाईटीका अध्यक्ष राजेश कारंजितले जानकारी दिए ।

अध्यक्ष कारंजितले नमुनाको रुपमा पहिलो चरण अन्तर्गत मध्यपुर थिमि नगरपालिका वडा नं. ६ भित्रका करिव १ सय ५० वटा सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्ने योजना रहेको बताए ।
उनले भने ‘पछि नगरभित्रका अन्य वडाहरुमा पनि यो कार्यक्रमलाई निरन्तरता दिदैं सञ्चालन गर्ने योजना रहेको छ ।’सोसाईटीका सचिव सविता श्रेष्ठले एउटा वयष्क पोथी कुकुरले आफुनो जीवनकालभरी ८० वटा बच्चाहरु जन्माउन सक्षम हुने बताइन् ।

ती आमा र उसका बच्चाहरु बाँच्ने हो भने ६ वर्षमा करिव ६७ हजारको संख्यामा कुकुरको बृद्धि हुने उनको भनाई छ । ‘समुदायले थाम्न सक्नेगरी जन्मने कुकुरको उचित मात्रामा व्यवस्ति गर्न यो कार्यक्रमको महत्व रहेको छ,’ श्रेष्ठले भनिन् । कार्यक्रमले अनियन्त्रित रुपमा सडकमा बढ्दै गएको सामुदायिक छाडा कुकुरका कारण सडक दुर्घटनामा न्युनिकरण गर्नमा पनि सहयोग पुग्ने स्थानीयबासिन्दाहरु अपेक्षा रहेको छ ।