भक्तपुरमा एमालेको पार्टी संगठित सदस्य संख्या कति ?

413

-रशिला हुमागाइ
कार्तिक २४, भक्तपुर । नेकपा एमालेको भक्तपुरमा जिल्लामा भएका पार्टी संगठित सदस्यहरुको संख्या सार्वजनिक भएको छ । एमालेका जिल्ला अध्यक्ष बचन देउजाका अनुसार भक्तपुरमा एमालेको पार्टी संगठित सदस्यको संख्या ९ हजार ४ सय २७ जना रहेको छ । जसमा निर्वाचन क्षेत्र नं.१ मा ३ हजार ३ सय ३४ र निर्वाचन क्षेत्र न. २ मा ६ हजार ९३ जना रहेका छन् । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन यहिँ मंसिर १०, ११ र १२ गते चितवनमा हुदैं छ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिले आफ्नो भूगोलबाट चुनिएर आउनु पर्ने विधानमा व्यवस्था छ ।

प्रतिनिधि छनोटका लागि विहिवार (भोली २५ गते) देशैभरि एकसाथ मनोनयन दर्ता हुने एमाले भक्तपुरका अध्यक्ष देउजाले जानकारी दिएका छन् । २७ गते बिहानबाट देशभर महाधिवेशन प्रतिनिधि छनोटकालागि मतदान हुनेछ । एमालेका अनुसार हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट १ हजार २ सय पार्टी संगठित सदस्यबाट कम्तिमा एक महिलासहित ३ जना महाधिवेशन प्रतिनिधिका रुपमा चुनिने छन् ।
जिल्ला र विशेष जिल्ला अन्तर्गत ५ सय सम्म दलित पार्टी सदस्य मध्येबाट निर्वाचित हुने १ जना प्रतिनिधि आउनेछन् । तीन प्रतिनिधिमध्ये एकजना महिला अनिवार्य हुने व्यवस्था गरिएको छ ।

केन्द्रीय सल्लाहकार परिषदबाट १५ जना र प्रदेश र सो सरहका कमिटीहरुबाट कम्तिमा २ महिलासहित ५ जनाका दरले प्रतिनिधि आउनेछन् । एमाले केन्द्रीय कायार्लयको अनुसार पार्टीको संगठित सदस्यको संख्या ७ लाख २८ हजार रहेको छ ।
ती सदस्यहरुबाट मंसिर १०–१२ मा हुने दशौं महाधिवेशनमा १ हजार ५ सय ५२ जना महाधिवेशन प्रतिनिधिको रुपमा चुनिएर आउने छन् । पार्टीको स्थानीय तहको अधिवेशनमा सर्वसहमत नेतृत्व चयन भएपनि महाधिवेशन प्रतिनिधि छनोटमा भने मतदानको विकल्प नभएको एमालेका नेताहरु बताउछन् ।