कविताः एउटा प्रश्न तिमीलाई !

140

– विदुरप्रसाद तिमिल्सिना

मध्यरातको चिर निन्द्रामा
कसरी चोरिएछ मेरो निन्द्रा
आकाशबाट तारा झरेको देखेर
अचम्मित अनि आनन्दी बन्दा
उडान भर्दाभर्दै बिलाएँ म
सम्झिएँ तारा झरेको देख्दा
किन निन्द्रा हराएको होला ?
म बिलाउनु र तारा खस्नु
अकस्मातको संयोग बन्दा
तारा र निन्द्राको सम्बन्धमा
पुरानो प्रेमिल क्षण रहेछ ।

अनगिन्ती मानिसका भीडमा
किन तिमीलाई नै मैले देखेँ !
थुप्रै सम्भावनाका छापहरू
सजाएर अगाडि बढेँ बाटामा
छाम्न सकेनौ मेरो हृदय
शब्दका मीठा भावहरूले,
सङ्गीतका नवीन झङ्कारले
म झङ्कारित भई रहेँ
तिम्रो हृदयको भित्तामा
नजरले छाम्न बाध्य भएँ
भरोसाका हात लम्काउँदै ।
तर
आजकल तिमीमा भरिएको छ
म आफू नै ठूलो भन्ने
अजङ्गको अभिमान ।
स्वतन्त्र पन्छी ठानेर
आकाशमा कावा खाँदासमेत
हृदयमा हुँदैन रक्तसञ्चार
सबै आशा बदलिए निराशामा
उर्वर भूमि किन पारिएको बाँझो
प्रश्न सोध्न मन छ साच्चै
तिमी पहिलाजस्तै हुन्छौ त ?